इलामका हाटबजार सुनसान
प्रेम अधिकारी
पशुपतिनगर (इलाम), पुस २३ गते । इलामको ऐतिहासिक बजार जौबारीका व्यवसायी थुम्बे शेर्पा यतिबेला फुर्सदिलो बन्नुभएको छ । लामो समयदेखि जौबारी बजार सुनसान भएपछि शेर्पाले फुर्सद पाउनुभएको हो ।
नेपाल र भारतको सीमावर्ती जौबारी बजार केही वर्षदेखि सुनसान बनेको शेर्पाले बताउनुभयो । पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङका व्यापारी र स्थानीयवासीले आफ्ना उत्पादन बिक्री गरी आवश्यक सामग्री खरिद गर्ने यो बजार सुनसान बनेपछि यहाँका पुराना व्यापारीसमेत पलायन हुन थालेको उहाँले बताउनुभयो । शेर्पाले भन्नुभयो, “पसल त रुँगेर बस्नु मात्र हो, बिक्री छैन । ”
अलैँची, आलु, मटर, घिउ, छुर्पी बिक्रीका लागि विगतमा पहाडी क्षेत्रको एक मात्र बजारका रूपमा जौबारी थियो । कृषिजन्य वस्तु बिक्री गरी किसान र व्यापारीले चामल, चिनी, नुनलगायतका सामग्री यो बजारबाट खरिद गर्ने गरेका थिए ।
जौबारी बजार इलाम जिल्लाकै सबैभन्दा पुरानो बजार भए पनि पूर्वाधारको अभावमा सुक्दै गएको छ । हिउँद महिनामा सवारीसाधन सञ्चालन भए पनि बर्खायाममा चल्दैनन् । यातायातकै समस्याका कारण जौबारी बजार सुनसान भएको अर्का व्यापारी छिन्दुनी भोटियाले जानकारी दिनुभयो ।
कोरोना महामारीका बेला भएको लकडाउनका कारण सीमा क्षेत्रमा कडाइ गरिएपछि व्यवसाय ठप्प भएपछि अधिकांश व्यापारी पलायन भएका छन् ।
कुनै बेला मारवाडी समुदायका व्यापारीको बाक्लो बसोबास भए पनि सशस्त्र द्वन्द्वको समयमा सबै विस्थापित भए । त्यसपछि स्थानीय व्यापारीले धान्दै आएको उक्त बजारमा कृषिजन्य वस्तुको बिक्रीसमेत हुन छोडेपछि स्थानीय व्यापारीसमेत विस्थापित हुन थालेका छन् ।
नेपालतर्फबाट सीधा सडक नहुनु र भारतीय बाटोबाट उपभोग्य सामग्री ल्याउन भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गर्ने गरेकाले यहाँका बासिन्दा वर्षौंदेखि दुःख खेप्दै आएका छन् । सीमावर्ती मेघमा, तुम्लिङ, जौबारी, कैयाकट्टा, कालपोखरी, सन्दकपुरलगायत स्थानमा नेपालतर्फबाट बाह्रै महिना चल्ने सडक नहँुदा वर्षौंदेखि स्थानीयवासीले सास्ती खेप्नुपरेको हो ।
जौबारीमा आलु विकास केन्द्र, बागवानी विकास केन्द्रका कार्यालय रहेका छन् । भारतीय र बङ्गाली पर्यटक जौबारी हुँदै पर्यटकीय क्षेत्र सन्दकपुर जाने गरेपछि जौबारीको पर्यटनसमेत ओझेलमै परेको छ ।
सन्दकपुर गाउँपालिकामा पर्ने जौबारी बजारको विकासका लागि गाउँपालिकाले काम गरिरहेको गाउँपालिका अध्यक्ष उदयबहादुर राईले जानकारी दिनुभयो । उहाँले पर्यटन मार्गको विकास गर्नसके मात्र जौबारी बजार साबिकको अवस्थामा फर्कन सक्ने बताउनुभयो ।
यसैगरी इलामको सूर्योदय नगरपालिकाको मेची बजार, कटुसे बजार, आइतबारेलगायतका बजारसमेत सुनसान बन्दै आएका छन् । माईजोगमाई गाउँपालिकाको शुक्रबारे बजार पनि उठ्ने अवस्थामा पुगेको छ । उक्त बजार जिल्लाको कृषिजन्य बजार खरिद बिक्री गर्ने अर्को मुख्य केन्द्र भए पनि हिजोआज बजार सुनसान छ । शुक्रबारे बजारबाट ठूला व्यापारी अन्यत्र सरिसकेका छन् । व्यापारीका घर बजारमा भए पनि जीर्ण रहेको र बजार सुनसान भएको लामो समय भइसकेको स्थानीय गगन घिमिरेले बताउनुभयो ।
यातायातको सुविधा भएका क्षेत्रका बासिन्दा र व्यापारी सोझै तराईका बजार झर्ने गरेका कारण पनि ग्रामीण बजारको महŒव घट्दै गएको छ । माईजोगमाई गाउँपालिकामा पर्ने शुक्रबारे, सोमबारेलगायतका ग्रामीण बजारमा साप्ताहिक हाटसमेत लाग्न छोड्का छन् ।
साप्ताहिक हाट लाग्न छोडेपछि ग्रामीण बजारको अवस्था खस्कँदै गएको पाइन्छ ।