जुनारले पहेँलपुर बगैँचा, किसान दङ्ग
बाबुराम देवकोटा
तीनकन्या (सिन्धुली), पुस २३ गते । जुनारको मुख्य क्षेत्रका रूपमा परिचय बनाएको सिन्धुलीको महाभारत उत्तरतर्फका बगैँचा यतिखेर पहेँलपुर बनेका छन् । जुनार बिक्रीबाट बर्सेनि किसानले दुई लाखदेखि २० लाख रुपियाँसम्म आम्दानी लिने गरेका छन् ।
सिन्धुली जिल्लामै सबैभन्दा बढी गोलन्जोर गाउँपालिका–४ को माझकुभिण्डे र आलेगाउँमा जुनार उत्पादन हुने गरेको छ । यो वर्ष कोभिड–१९ को हल्लाले गर्दा धेरैजसो जुनार बोटमा नै छन्, गाउँ नै पहेँलपुर छ ।
सिन्धुली गोलान्जोर गाउँपालिका–४, तीनकन्याका किसान सुरेन्द्र ठकुरीले १६ रोपनी जमिनमा गर्नुभएको जुनार खेतीको बगैँचा यतिखेर पहेँलपुर बनेको छ । बोटमा लटरम्म फलेको जुनारको दाना देखेर उहाँ दङ्ग पर्नुहुन्छ । उहाँको बगैँचामा अहिले जुनार र सुन्तलाका ३५०–३५० बोट छन् ।
उहाँले भन्नुभयो, “हरेक वर्ष मङ्सिरको दोस्रो हप्तादेखि माघको अन्तिमसम्म जुनार र सुन्तलाले बगैँचा नै पहेँलपुर बन्ने गरेको छ । ” गत वर्ष जुनार सुन्तला बिक्रीबाटै १२ लाख ४८ हजार रुपियाँ नाफा लिएको उहाँले सुनाउनुभयो । वैशाखमा परेको असिनाले चिचिला झारे पनि मनै लोभ्याउने गरी दाना सप्रिएको ठकुरीले बताउनुभयो ।
चिनियाँ व्यापारीको चासो
चिनियाँ व्यापारीसहितको टोलीले गाउँमै पुगेर सम्भाव्यता अध्ययन गरेपछि किसानमा थप उत्साह पलाएको छ । बाहिरी मुलुकबाट समेत व्यापारी आएकाले बोटमा नै कुहिएर जाने अवस्था पक्कै नआउनेमा किसान ढुक्क रहेका जुनार किसान लोकबहादुर आले बताउनुहुन्छ । अहिले सिन्धुलीको जुनारको बजार काठमाडौँ र प्रमुख सहर हुन् । “जुनार उत्पादन यो वर्ष राम्रो भएको छ,” किसान आलेमगरले भन्नुभयो, “पाक्नुअगावै जुनारको बगैँचामा आएर खरिद गर्ने व्यापारी नआउँदा भने चिन्ता बढेको छ । ” थोरैथोरै जुनार बजारमा लगेको भए पनि ठूलो परिमाणमा खरिद गर्ने व्यापारी बगैँचामा नआएकाले अझै धेरै जुनार बिक्री गर्न बाँकी रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपर जोनका प्रमुख देवराज अधिकारीका अनुसार जिल्लामा यो वर्ष एक हजार ३४५ हेक्टर जमिनमा जुनार खेती गरिएको छ । जिल्लामा गत वर्ष जुनार खेतीबाट आठ हजार ८८१ मेट्रिक टन जुनार उत्पादन भएको थियो । रतनचुरा, तीनकन्या, जलकन्या, बितिजोर, वाशेश्वर, मझुवा र दुम्जालगायतका ठाउँ जुनार खेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको छ ।
सिन्धुलीमा गत वर्ष उत्पादन भएको जुनारबाट किसानले झन्डै ७० करोड रुपियाँ भित्र्याएको जुनार केन्द्रीय सहकारी सङ्घले जनाएको छ ।