मानव संसाधनको व्यवस्थापनसँगै नवप्रवर्तन आवश्यक : प्रधानमन्त्री
गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस २४ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको शिक्षा प्रणालीले देशको विकासमा आवश्यक पर्ने सीपयुक्त, नयाँ प्रविधिको ज्ञान भएको दक्ष जनशक्ति तयार गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । कर्पोरेट क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘एक्सिलेन्स अवार्ड’ वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । उहाँले नेपाल कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा रहेकाले मानव संसाधनको उचित व्यवस्थापन गर्दै नवप्रवर्तनमा जोड दिनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले युवा जनशक्ति विश्वस्तरीय शिक्षा र राम्रो रोजगारीका लागि विदेशिने क्रम बढिरहेकाले त्यसलाई रोक्न कर्पोरेट क्लबजस्ता संस्थाहरूले बजारको माग र युवाको रुचिलाई एकआपसमा मिल्ने गरेर मानव संसाधनको उचित व्यवस्थापन गर्नुपर्ने धारण व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले संस्थागत विकासमा उल्लेख्य योगदान पु-याउने तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइत, मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला र प्राध्यापक डा. सुरेशराज शर्मालाई अवार्ड प्रदान गर्नुभयो । त्यस्तै लक्ष्मी ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष गणेशबहादुर श्रेष्ठलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
प्राध्यापक सुवास केसी नेतृत्वको सात जनाको समूहले विभिन्न आधार तय गरेर सन् २०२१ को एक्सिलेन्स अवार्डका लागि विभिन्न कम्पनीको छनोट गरेको थियो । डा. केसीले अवार्डका लागि गरिएको छनोट प्रक्रियाबारे जानकारी दिनुभएको थियो ।
शुक्रबार सम्मानित हुने कम्पनीमा कर्पोरेट एक्सिलेन्स अवार्ड व्यक्तितर्फ महिला बैङ्कर अनुपमा खुञ्जेलीलाई प्रदान गरियो भने पुरुषतर्फ उद्योगी हरिभक्त शर्मालाई प्रदान गरिएयो । कृषि व्यवसाय तर्फको अवार्ड निम्बस कम्पनीले पाएको छ भने औषधि उद्योगतर्फ क्वस्ट फर्मास्युटिकल्सले प्राप्त गरेको छ ।
त्यस्तै स्टार्टअप कम्पनीतर्फको अवार्ड अनलाइन व्यवसाय गर्दै आएको सस्तो डिलले हात पारेको छ भने फिन टेक कम्पनीतर्फको अवार्ड ई–सेवाले प्राप्त गर्न सफल भएको छ । आईटी आईपीएस तर्फको अवार्ड डिस मिडिया कम्पनीले पाउन सफल भयो भने हस्पिटालिटी सर्भिसतर्फको अवार्ड होटल सोल्टी काठमाडौँले पाएको छ ।
टिच फर नेपालले सोसियल इन्टरप्राइजेज अवार्ड हासिल गरेको छ । स्वास्थ्य सेवाको अवार्ड तिलगङ्गा आँखा प्रतिष्ठानले पाएको छ । उत्पादनतर्फको अवार्ड किरण सुजले पाएको छ भने जलविद्युत् कम्पनीतर्फ उत्कृष्ट कम्पनीको अवार्ड बुटवल कम्पनीले पाएको छ । बहुराष्ट्रिय कम्पनीमध्ये एसियन पेन्ट्स उत्कृष्ट साबित भएको छ भने इन्स्योरेन्स कम्पनीमध्ये शिखर इन्स्योरेन्सले अवार्ड पाएको छ । त्यस्तै उत्कृष्ट वित्तीय क्षेत्रको अवार्ड मुक्तिनाथ विकास बैङ्कले पाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णु अग्रवालले कुनै पनि उद्योग प्रतिष्ठानको मानव संसाधान प्रमुख खम्बा भएकाले त्यसलाई के कसरी समुचित व्यवस्थापन गर्ने र मानव विकासमा के कति लगानी गर्ने भन्नेमा सबैले ध्यान दिन सकेमा मात्र राष्ट्रको आर्थिक सामाजिक विकास हुन सक्ने बताउनुभयो ।
बैङ्कर उपेन्द्र पौडेलले निजी क्षेत्रले मानव स्रोतसाधनको अधिकतम उपयोग गर्ने नाउँमा कर्मचारीलाई अधिक प्रयोग गरिरहेको पनि पाइएको भन्दै कर्मचारीलाई खुसी बनाउन सकेमा मात्र कर्मचारीले राम्रो उत्पादन दिन सक्ने बताउनुभयो । नेपाल बैङ्कर एसोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्यायले यस्तो अवार्डको आयामलाई अफ व्यापक बनाउँदै जानुपर्ने बताउनुभयो ।