अर्थ |

धानको समर्थन मूल्य कार्यान्वयनमा समस्या:किसानभन्दा व्यापारीलाई लाभ

जिवछ यादव

लहान, पुस २४ गते । प्रत्येक वर्ष सरकारले निर्धारण गरेको धानको मूल्यको लाभ किसानभन्दा बढी व्यापारीले पाउने गरेका छन् । सरकारले निर्धारण गरेको समर्थन मूल्य प्रतिक्विन्टल सोना मनसुलीको दुई हजार ९०२ र कतरनी धानको तीन हजार १५० रुपियाँ छ । यो दरमा स्थानीय व्यापारी र उद्योगले किन्न मान्दैनन् भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानको सबै धान खरिद गर्दैन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मुख्य शाखा कार्यालय, लहानले पुस २२ गतेदेखि धान खरिद गर्न सूचना जारी गरेको थियो । उक्त सूचनाका आधारमा पहिलो दिनमा नै सयौँ ट्याक्टर धान बिक्रीका लागि लाइनमा थिए । अधिकांश ती ट्याक्टर धान किसानको नभई व्यापारीको भएको लहान–१३ का किसान रघुवीर यादवले खुलासा गर्नुभयो ।

किसानले मनसुली धान मध्य मङ्सरतिरै भित्र्याइसकेका हुन् । गहुँको बीउ, मलखाद र अन्य घरायसी समस्या टार्न किसानले नजिकको धान बिक्री केन्द्र (चटी)मा बेच्दा दुई हजार २०० देखि दुई हजार ४०० रुपियाँसम्ममा बिक्री गरेका थिए । अहिले व्यापारीले त्यही धान प्रतिक्विन्टल ५०० देखि ७०० रुपियाँ नाफा लिएर बिक्री गरिरहेका छन् ।

किसानको समस्या बुझिदिने कोही नभएको किसानको गुनासो छ । सखुवानन्कारकटी–३ का तिरपित यादवले सोझो किसानले धान बिक्री गरिसकेपछि खाद्य व्यवस्था तथा कम्पनी लिमिटेडले धान खरिदका लागि सूचना गर्नुले किसान प्रत्यक्ष मारमा परेको बताउनुभयो ।
लहान शाखाले यस वर्ष एक हजार ५०० मेट्रिक टन सोना मनसुली र तीन हजार मेट्रिक टन कतरनी धान खरिद गर्ने योजना रहेको सो शाखाका प्रमुख शम्भु रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “किसान हो कि व्यापारी हो कसैको निधारमा लेखेको छैन । स्थानीय तहका कृषि प्राविधिकले जग्गाको लालपुर्जा र नागरिकताको छायाकपी राखेर गरेको सिफारिसअनुसार प्रतिकिसान १०० क्विन्टलको दरले धान खरिद गर्छौं । ”

गाउँगाउँमा धान खरिद गर्ने चटीलाई अनुगमन नगर्दा किसान समस्यामा परिरहेको नेपाल कृषक महासङ्घ सिरहाका अध्यक्ष प्रदीपसिंह दनुवारले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले समयमा मल बीउ नपाउनु उत्पादन गरेको धानको सरकारी मूल्य किसानले पाउन नसकिरहेको गुनासो बर्सेनि उठाए पनि अहिलेसम्म किसानको समस्या जस्ताको तस्तै रहेको छ । ”