पर्यटन सहकारीको नाफा ४६ प्रतिशतले वृद्धि
सन्तोष राउत
सोलुखुम्बु, पुस २४ गते । सोलुखुम्बुमा सञ्चालित दूधकोशी पर्यटन सहकारी संस्था लिमिटेडको खुद नाफा ४६ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा सहकारीको नाफा आर्थिक वर्ष २०७७/७८ मा ४६ प्रतिशतले वृद्धि भएको चौथो साधारण सभाका क्रममा जानकारी दिइएको छ । सहकारीले १४ लाख ३६ हजार ७४४ रुपियाँ नाफा कमाएको संस्थाका सचिव विनोदसिंह तामाङले जानकारी दिनुभयो ।
सहकारीको शेयर सदस्य १४ प्रतिशतले वृद्धि भई ५४० पुगेको, शेयर पुँजीमा १४ प्रतिशतले वृद्धि भई एक करोड ४४ हजार रुपियाँ पुगेको, कुल आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा २७ प्रतिशतले वृद्धि भई दुई करोड ४२ लाख ७० हजार ४८० पुगेको प्रतिवेदन प्रस्तुत गरिएको छ ।
शेयर सदस्य तथा शेयर वृद्धि, व्यवसायिक भवन निर्माणको कार्यलाई सुरु गर्ने, युवा स्वरोजगार, साना किसान लघुवित्त लगायतका विभिन्न संस्था तथा सरकारी निकायसँग समन्वय तथा सहकार्य गरी सदस्यलाई सहुलियत दरका ऋण एवम् अनुदानका कार्यक्रम ल्याउने चालु आर्थिक वर्षमा लक्ष्य राखिएको छ ।