अर्थ |

बाँझो जमिन बन्यो हराभरा

गोकर्ण दयाल

बैतडी, पुस २६ गते । सधैँ बाँझो रहने बैतडीको दशरथचन्द नगरपालिका–१०, तिरखडेनीमा महाकालीको पानी बग्न थालेपछि हरियाली छाएको छ । सिँचाइ सुविधा भएपछि स्थानीय महिलाले फलाएको ‘अर्गानिक’ आलु बजारमा जान थालिसकेको छ । तीन महिना नपुग्दै खेतमा आलु फलेपछि पुस २२ गतेदेखि आलु खन्न सुरु गरेको स्थानीय महिला किसान कौशा बुडालले बताउनुभयो । “४० क्विन्टल आलुको बीउ रोपेका थियौँ । प्रतिकिलोग्राम कम्तीमा १० किलो फल्छ भन्ने आशा लिएका छौँ” कौशा बुडालले भन्नुभयो ।

खेतमा फलेको आलु पुस मसान्तसम्म खाली गरेर गहुँ छर्ने तयारीमा रहेकाले अहिले तिरखडेनीका महिलालाई आलु खन्न भ्याइनभ्याइ छ । युरिया र विषादीको कुनै प्रयोग नभएका कारण अर्गानिक आलु किन्न ग्राहक बारीमै पुग्ने गरेको स्थानीय किसान प्रताप बुडालले बताउनुभयो । यसअघि भारतीय बजार झुलाघाट गएर तरकारी किन्दै आइरहेको चर्चा गर्दै स्थानीय किसान प्रताप बुडालले भन्नुभयो, “महाकालीबाट लिफ्ट सिँचाइ योजना बनेपछि गएको एक वर्षदेखि हामीले बजारबाट तरकारी किनेका छैनौँ । बरु अहिले बजारमा तरकारी बिक्री गरिरहेका छौँ । गोठेमलको प्रयोग गरिने भएकाले यहाँको अन्न र तरकारीको माग ह्वात्तै बढेको छ । मागअनुसार पूर्ति गर्न सकिरहेका छैनौँ । ”

छेउमै बगिरहेको महाकाली नदीको पानी लिफ्ट गर्न दशरथचन्द नगरपालिकाले गत वर्ष आर्थिक सहयोग गरेको नगरप्रमुख नरेन्द्रसिंह थापाले बताउनुभयो । १५ लाख रुपियाँमा उक्त सिँचाइ आयोजना सम्पन्न भएको हो । कृषि ज्ञान केन्द्र बैतडीले महिलालाई सामूहिक तरकारी खेती गर्न ४० क्विन्टल आलुको बीउ सहयोग गरेको थियो । गाउँमा पहिलो पटक महिलाले व्यावसायिक आलुखेती सुरु गरेको प्राविधिक सहयोग गर्दै आउनुभएका कृषि प्राविधिक ललिता जोशीले बताउनुभयो ।
महाकालीको पानीले सिँचाइ हुन थालेपछि गाउँमा पहिलो पटक तिरखडेनीका महिलाले गहुँ, मकै र धानबालीसहित तरकारी खेती गरेका हुन् । महिलालाई खनजोतका लागि हाते ट्याक्टरसमेत प्रदान गरिएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो ।