अर्थ |

कृषि औजार कारखाना स्थापना गरिने

मकवानपुर समाचारदाता

हेटौँडा, पुस २७ गते । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बजेट खर्च वृद्धि भएपछि तरलताको समस्या अन्त्य हुने बताउनुभएको छ । उद्योग सङ्घ मकवानपुरको २०औँ वार्षिक साधारण सभाको सोमबार हेटौँडामा उद्घाटन गर्दै उहाँले सरकारको अनुदार नीति र कोभिड–१९ का कारण उद्योगहरू प्रभावित भएको र फस्टाउन नसकेको बताउनुभयो । उहाँले प्रदेश सरकारले कृषिलाई प्राथमिकता दिँदै औद्योगिक क्षेत्रमा कृषि औजार कारखाना स्थापनाको तयारी गरिरहेको जानकारी दिनुभयो ।

सो कार्यक्रममा राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता सुमनराज प्याकुरेलले रोजगारीको अवसर सिर्जना गर्न औद्योगिक विकास आवश्यक भएको बताउनुभयो । नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले औद्योगिक क्षेत्र प्रदेशको अधिकार क्षेत्रमा आउनुपर्ने बताउँदै सरकारले लगानीकर्तालाई अवसर दिने र उत्साह जगाउने हो भन्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन लगानी वृद्धि आवश्यक भएको बताउँदै औद्योगिकीकरणले मात्र उत्पादन वृद्धिसँगै रोजगारीको अवसर सिर्जना गर्ने भएकाले लगानीको वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।
औद्योगिक क्षेत्र उद्योग महासङ्घका अध्यक्ष रामहीरा पाठकले आयात प्रतिस्थापन गर्ने औद्योगिक नीति बनाउनुपर्नेमा जोड दिनुभयो । उद्योग सङ्घ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले राष्ट्र बैङ्कले तोकेको मूल्य वृद्धिका आधारमा औद्योगिक मजदुरको तलब वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।