‘ब्रान्ड’ नै बन्यो सडक व्यापार
हरि कोइराला
उर्लाबारी,माघ १ गते । पहिलो पटकको बन्दाबन्दीले गाउँमा सञ्चालन गरेको होटल बन्द भएपछि मोरङ बेलबारी नगरपालिका–१० का मेघराज बस्नेतले पूर्व–पश्चिम राजमार्गमा पर्ने चिसाङ–भाउन्ने सडक किनारमा तरकारी पसल सुरु गर्नुभयो । टाउको लुकाउने साधारण घर र अलिकति पाखोबारी मात्र भएका बस्नेत बन्दाबन्दी सकिएपछि पनि पुरानो होटल व्यवसायमा फर्किनुभएन । होटलभन्दा सडकको व्यापारले नै उहाँलाई आकर्षित गरिरह्यो ।
सो सडकमा अहिले मेघराज बस्नेतजस्ता ३० भन्दा बढी व्यापारी सडक किनारमा मौसमअनुसारको व्यापार गरिरहेका छन् । मोरङको भाउन्ने र चिसाङ खोला पूर्व र पश्चिममा केरा र मकैको व्यावसायिक खेती हुने गरेको छ । सडक किनारमा केरा र मकैका साथसाथै निगुरो, तरुल, मौसमी तरकारी र फलफूल बिक्री हुने गरेको छ । यो सडक व्यापार पोलेको मकै र ताजा तरकारी तथा फलफूलका लागि ‘ब्रान्ड’ नै बनेको छ ।
२१ महिनादेखि मकै पोल्ने व्यवसाय गरी रहनुभएका बस्नेतले भन्नुभयो, “मकै बाह्रै महिना उत्पादन हुन्छ । किसानको खेतबारीमै गएर प्रतिकट्ठा आठ हजारदेखि ११ हजार रुपियाँसम्ममा हरियो मकै किन्न पाइन्छ । दाउरा ल्यायो, भट्टी लगायो अनि पोलेका मकै बेच्यो । ” ५१ वर्षीय बस्नेतको परिवारमा श्रीमतीसहित चार छोरी र एक छोरा छन् । सडक व्यापारमा परिवारका सबै सदस्यको उत्तिकै सहभागिता छ । उहाँले भन्नुभयो, “कहिले म आउँछु, कहिले श्रीमती । हरिया मकै ठेक्का गर्न गाउँ पनि पस्नैप¥यो । ” बस्नेत परिवारको खुद आम्दानी दैनिक एक हजारदेखि एक हजार २०० रुपियाँ रहेको छ । बस्नेतकै छेउमा टेकबहादुर याक्खा तरुल, हरिया मकै र केराको व्यापार गर्नुहुन्छ । उहाँकी छोरी नजिकै भट्टी लगाएर मकै पोल्नुहुन्छ । याक्खाले भन्नुभयो, “३ बजेपछि श्रीमती पनि सघाउन आउँछिन् । पाँच जनाको परिवार यसैबाट पालिएको छ । ”
शम्भु बस्नेतको पनि परिवार सडकमै मकै पोल्ने र बिक्री गरेर पैसा कमाउनमा मस्त छ । मकै खेतीसमेत गरिरहनुभएका शम्भु बस्नेतले भन्नुभयो, “बन्दाबन्दीले व्यापारी पनि बनायो । पहिले मकै किनिदेऊ भनेर काँटावालालाई ढोग्नुपथ्र्यो । मकैको खर्च उठाउन गाह्रो थियो । अहिले हरिया मकै बिक्री गर्न थालेपछि ६०÷६५ दिनमा एक कट्ठाको मकैबाट घोगा बेच्दा १० हजार रुपियाँ र आफैँ पोलेर बेच्दा १८ हजार रुपियाँ आम्दानी लिन सकिन्छ । ”
सडकको दुवैतिर घना जङ्गल छ । वन कार्यालयले टहरा बनाउन दिएको छैन । हरेक व्यापारीले ग्राहकका लागि मुडा, कुर्सीको बन्दोबस्त मिलाएका छन् । बस्नेत र याक्खा प्रतिनिधि पात्र मात्र हुनुहुन्छ, अरू धेरै परिवारको दैनिक गुजारा सडक व्यापारबाटै हुने गरेको छ । यो सडकको तीन किलोमिटर दूरीमा ३० बढी व्यापारीले आफ्नो व्यापार चलाइरहनुभएको छ ।
बन्दाबन्दीले अर्थतन्त्र थलिएका बेला सुरु भएको कृषि उपजसँग सम्बन्धित सडक बजार फष्टाएपछि अहिले बेलबारी नगरपालिका–८, १० र ११ तथा कानेपोखरी गाउँपालिका–५ र ७ का किसान व्यावसायिक केरा र मकै खेतीतर्फ आकर्षित भएका छन् । बेलबारी–१० का किसान केशव भण्डारीले भन्नुभयो, “हरिया मकै बिक्रीका लागि बजारको अभाव छैन । ”