हवाई यात्रुको उपभोक्ता अधिकारप्रति बेवास्ता
गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २ गते । हवाई यात्रा सहज, छिटो र भरपर्दाे भएको मानिन्छ तर सबै अवस्थामा यसो नहुन पनि सक्छ । तोकिएको समयभन्दा ढिला उडान हुनु वा रद्द हुनु सामान्य हुने गरेको छ । नेपालका आन्तरिक हवाई सेवामा आठ घण्टासम्म ढिलाइ हुने गरेको र यस्तो ढिलाइबारे सूचना यात्रुले नपाउने गरेको देखिएको छ । यस्तो ढिलाइमा सेवा प्रदायकले जिम्मेवारी लिने प्रचलन पनि छैन ।
राष्ट्रिय मानव अधिकार आयोगको अध्ययनले आन्तरिक हवाई यात्रुले भोग्नुपरिरहेका समस्या पहिल्याएको छ । आयोगले शुक्रबार राजधानीमा आयोजना गरेको ‘हवाई सेवा प्रयोग गर्ने यात्रुुको उपभोक्ता अधिकार’ विषयक छलफलमा हवाई यात्रुको उपभोक्ता अधिकारबारे विमर्श गरिएको हो ।
केही विमान सेवा कम्पनीले यात्रुलाई बिहानै विमानस्थलमा बोलाउने र दिनभरि कुराउने गरेको, बिनासूचना उडान रद्द गर्ने गरेको, विमानस्थलमा खानेकुरा तीन गुुणा महँगो हुने गरेकोजस्ता समस्याबाट हवाई यात्रु पीडित भएको आयोगको अनुगमन प्रतिवेदनले जनाएको छ । यस्तो समस्या बढी मात्रामा पहाडी क्षेत्रका उडानमा हुने गरेको आयोगले जनाएको छ ।
सो कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टपबहादुर मगरले हवाई यात्रुको हकअधिकार सुरक्षाका लागि आयोगले अध्ययन सुुरु गरेको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा हवाई यात्रुका समस्या बुुझ्ने र दोस्रो चरणमा सेवा प्रदायक विमानस्थल र विमान सेवा कम्पनीसँग छलफल गर्ने तयारी रहेको पनि बताउनुभयो ।
कार्यक्रममा आयोगका सदस्य सूूर्यप्रसाद शर्मा (ढुङ्गेल)ले हवाई यात्रुको अधिकार रक्षाका लागि आयोगले प्राथमिकता दिएर अभियान सुुरु गरेको र यस प्रकारको अभियानले समस्या निर्मूल नभए पनि केही हदसम्म सुधार हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा उपभोक्ता अधिकारकर्मी गोविन्द सुवेदीले कानुनले हवाई सेवा लिने ज्येष्ठ नागरिकलाई ५० प्रतिशत भाडा छुट दिने व्यवस्था गरेको तर अहिलेसम्म त्यो छुटको कुनै पनि विमान कम्पनीले लागू गर्न नसकेको गुनासो गर्नुभयो ।
विमान सेवा कम्पनीले विमान उडानको समय तालिका परिवर्तन हुनुुमा ९० प्रतिशत कारण कम्पनीको नियन्त्रणभन्दा बाहिर रहेको, कम्पनीले गर्ने उडानमा धेरै समस्या मौसमका कारण समयमा उडान नहुने गरेको आयोगको अनुगमनमा पाइएको छ । यस्तै मौसमको दृश्यता जाँच गर्ने यन्त्र र मौसम पूर्वानुमानको व्यवस्था नभएका कारण यात्रुलाई विमान उडानमा हुने ढिलाइको निश्चित समयबारे जानकारी समयमै दिन चुनौती भएको र अर्को काठमाडौँमा हुने उच्च ‘एयर ट्राफिक’ कारण समयमा उडान हुन नसक्ने अवस्था रहेको आयोगको अनुगमनमा पाइएको छ ।