बाख्रापालनबाट राम्रो आम्दानी
बाबुराम शर्मा
चरीकोट, माघ ३ गते । दोलखाको तामाकोसी गाउँपालिका–२, झुलेका कमल कार्कीले नोकरी र विदेशको हन्डरबाट ठक्कर खाएर गरेको बाख्रापालनले राम्रो आम्दानी दिन थालेको छ । बाबुबाजेका पालादेखि गर्दै आएको स्थानीय जातका बाख्रापालनलाई परिवर्तन गरी उन्नत जातका बाख्रापालन गरेपछि वार्षिक छ लाख रुपियाँ कमाइ हुन थालेको किसान कार्कीले बताउनुभयो ।
उहाँका अनुसार दुई वर्षदेखि बाख्रापालनलाई व्यावसायिक बनाइएको हो । दुई, चार हुँदै यो वर्ष छ लाख रुपियाँ कमाइ भएको हो । कमाइ बढ्दै गएपछि बाख्रापालनले आकर्षित गरेको बताउने कार्की जनशक्ति अभावले लगानी बढाउन नसकेको जानकारी दिनुभयो । छ वर्ष दुबई बस्दा भएको दुःखको स्मरण गर्दै उहाँले भन्नुभयो, “दुःख गर्दा पनि खासै कमाउन नसकेपछि आफ्नै देशमा केही गर्छु भनेर बाख्रापालनमा लागेँ । यो पेसा त अहिले वरदान हुन थालेको छ । ” प्रदेशबाट बोका किन्न ७५ हजार र गाउँपालिकाबाट ६० हजार रुपियाँ मात्र पाएको तर खोर बनाउन डेढ लाख र बाख्रा बोका खरिदमा आठ लाख रुपियाँ खर्च भइसकेको उहाँले बताउनुभयो ।
लगानी डुब्छ कि भन्ने चिन्ता नरहेका कार्कीले भन्नुभयो, “पाठापाठी र खसी बेच्दा आगामी साल त लगानी उठिहाल्छ नि । उन्नत जातको तीन महिने पाठी छ हजारमा बिक्री हुन्छ । खसी काठमाडौँ लगेर बेच्ने गरिएको छ । एउटाको ५०/६० हजार त आइहाल्छ । ” उहाँसँग अहिले जमुनापारि र बोयर जातका गरी ११ माउ र पाठापाठी, खसी १८ गरी २९ वटा छन् ।
बाख्रापालनलाई भरथेग गर्न उहाँले भैँसी र कुखुरापालन पनि गर्नुभएको छ । उहाँले भन्नुभयो, “खेतीलाई मल पनि हुने आम्दानी पनि हुने भनेर बाख्रापालन गरिएको हो । दूध, अण्डा र तरकारी घरबाटै बिक्री हुन्छ, बजारको समस्या छैन । ” व्यावसायिक बनेपछि कमला बाख्रा फार्म दर्ता गरिएको छ । श्रीमती कमला कार्कीले फस्टाउँदै गरेको पेसालाई थप गर्न ऋण नपाएकामा दुःख व्यक्त गर्नुभयो ।