राहुघाटको भौतिक प्रगति ३८ प्रतिशत
ठाकुरप्रसाद पौडेल
बेनी (म्याग्दी), माघ ५ गते । म्याग्दीको रघुगङ्गामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको चार वर्ष बितिसकेको छ । तर, यसको भौतिक प्रगति ३८ प्रतिशतमात्रै छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मा निर्माण गरिरहेको ४० मेगावाट क्षमताको यो जलविद्युत् आयोजनाको प्रगति लक्ष्यअनुसार हुन सकेको छैन । निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजनाले गति लिन नसकेको हो ।
छ किलोमिटर दुुई सय मिटर लामो सुरुङमध्ये हालसम्म दुई हजार चार सय मिटरमात्रै सुरुङ निर्माण सकिएको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट र सुरुङको ब्रेक थ्रु भएर ३३० मिटर गहिरो प्रेसर साफ्ट निर्माण भएको छ । सिभिल ठेकेदारले चार ठाउँबाट मुख्य सुरुङ र दुई ठाउँबाट प्रेसर साफ्ट सुरुङ खन्ने काम गरिरहेको छ । सुरुङ, विद्युत् गृह र ड्यामसाइट निर्माणतर्फ अहिले ४५० जना जनशक्ति परिचालन भएको आयोजनाले जनाएको छ ।
दुई साता अघिदेखि बल्ल इलेक्ट्रो मेकानिकल ठेकेदार भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले कार्यक्षेत्रमा काम थालेको रघुगङ्गा हाइड्रो लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिनुभयो । सुरुमा ३२ मेगावाटमा डिजाइन गरिएको यो आयोजनाको क्षमता आठ मेगावाट बढाएर अहिले ४० मेगावाट क्षमतामा निर्माण गर्न लागिएको छ ।
सरकारी स्तरबाट म्यादीमा पहिलो पटक राहुघाट जलविद्युत् आयोजना अगाडि बढाइएको भए पनि निर्माण कम्पनीले काम छाडेपछि आयोजनाको निर्माण प्रभावित बनेको थियो । पहिलो पटक आयोजना निर्माणको जिम्मा लिएको कम्पनीसँग ठेक्का सम्झौता तोडेर पुनः ठेक्का लगाइएको हो ।
आयोजना निर्माणको ठेक्का लिएको भारतीय ठेकेदार कम्पनी आईभीआरसीएल प्रोजेक्ट्स लिमिटेडसँग २०७५ मा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको थियो । आईभीआरसीएल टाट पल्टिएपछि चार वर्षमा दस प्रतिशत गरेर ठक्का छाडेर भागेको थियो ।
नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत सेयर लगानी हुनेगरी २०७३ रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना गरी आयोजना अगाडि बढाइएको हो ।
आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी)सँग सम्झौता गरी सुरुङ, विद्युत् गृह र पावरहाउस निर्माणको काम अगाडि बढेको छ । अहिले पनि आयोजनाको काम सन्तोषजनक नहुँदा आयोजना सम्पन्न हुनेमा अझै शङ्का उत्पन्न भएको छ ।
२०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रो मेकानिकल ठेक्काको सम्झौता भए पनि सम्झौता भएको दुई वर्षपछि मात्रै ठेकेदार कम्पनी कार्यक्षेत्रमा परिचालन भएको हो । ३६ महिनाको अवधि रहेको इलेक्ट्रो मेकानिकल ठेक्काको समय अब एक वर्षमात्रै बाँकी छ ।
सिभिल ठेकेदारको ४५ महिनाको म्याद सकिएको छ । प्राकृतिक विपत् र कोभिड–१९ महामारीलाई कारण देखाएर एक वर्ष म्याद थप गर्न प्रस्ताव गरिएको आयोजना प्रमुख राजबहादुर विष्टले जानकारी दिनुभयो । आयोजना निर्माणलाई गति दिन पटक–पटक निर्माण कम्पनीलाई ताकेता गरिएको उहाँले बताउनुभयो ।
२०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको जेपीले २०७५ असारमा पहुँच मार्ग निर्माण गरी २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । विद्युत् गृहदेखि दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँच मार्ग निर्माण गरेको छ । बुग्लस्थित रघुगङ्गा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण भएको छ भने राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा जोड्न लुप इन लुप आउटको चारवटा टावरसमेत निर्माण भइसकेका छन् । अर्धजलाशययुक्त प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको थियो ।