अर्थ |

एघार सयभन्दा बढीले लिए सहुलियतपूर्ण ऋण

राममणि दाहाल

हेटौँडा, माघ ७ गते । बागमती प्रदेश सरकारले सञ्चालन गरेको सहुलियतपूर्ण ऋण लगानी कार्यक्रमअन्तर्गत एक हजार १०० भन्दा बढीले ऋण लिएका छन् । लक्षित समुदायलाई सहुलियतपूर्ण ब्याजदरमा प्रवाह गरिने उक्त ऋण लगानी कार्यक्रममा सहभागी हुन आह्वान गरिएअनुसार चालू आर्थिक वर्षको हालसम्म एक हजार १८७ जना किसान र उद्यमीलाई ऋण लगानी भएको हो ।

सहुलियतपूर्ण ब्याजदरमा ऋण लगानी गर्न बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले कृषि विकास बैङ्क र साना किसान विकास लघुवित्त वित्तीय संस्थासँग छुट्टाछुट्टै सम्झौता गरेको छ । मन्त्रालयका प्रवक्ता शशि भट्टराईले यो कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ५२ करोड तीन लाख ६३ हजार रुपियाँ ऋण लगानी भइसकेको जानकारी दिनुभयो ।

कृषि विकास बैङ्क लिमिटेड र साना किसान गरी एक अर्ब रुपियाँ निकासा भइसकेको जानकारी दिँदै उहाँले कृषि विकास बैङ्कमार्फत ३६६ जनालाई ३१ करोड ५३ लाख ५० हजार रुपियाँ र किसान लिमिटेडमार्फत ८२१ जना किसान र उद्यमीलाई २० करोड ५० लाख १३ हजार रुपियाँ लगानी गरिएको छ । प्रदेशभर कृषि विकास बैङ्क लिमिटेडका ६५ वटा शाखा र साना किसानका १८१ शाखामार्फत ऋण प्रदान गरिँदै आएको छ ।

प्रवक्ता भट्टराईले चालू आर्थिक वर्ष ऋण लगानीसम्बन्धी कार्यविधिमा सुधार गरी ऋण प्रवाहलाई सहज बनाइएको बताउनुभयो । गत आर्थिक वर्ष साना किसान विकास लघुवित्त वित्तीय संस्थाबाट प्रतिव्यक्ति अधिकतम १० लाख रुपियाँ ऋण लगानी गर्नसक्ने व्यवस्था रहेकामा चालू आर्थिक वर्षमा पाँच लाख रुपियाँसम्म मात्र लगानी गर्न पाउने व्यवस्था कार्यविधिमा रहेको छ । कृषि विकास बैङ्कले अधिकतम १० लाख रुपियाँ लगानी गर्न पाउने व्यवस्था छ ।

मन्त्रालयले कोभिड–१९ बाट प्रभावित कृषि, पर्यटन एवं रोजगारमूलक घरेलु तथा लघु उद्योग व्यवसायीलाई पुनरुत्थान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको जनाएको छ । चालू आर्थिक वर्षको बजेटमा दुई अर्ब रुपियाँ मात्र विनियोजन गरिएको छ ।उत्पादन र रोजगारीका अवसर सिर्जना गर्न विपन्न र किसान लक्षित गरी ल्याएको सो सहुलियतपूर्ण ऋण लगानी कार्यक्रमका लागि चालू आर्थिक वर्षमा दुई अर्ब रुपियाँ विनियोजन गरेको छ । गत आर्थिक वर्ष एक अर्ब १३ करोड १३ लाख रुपियाँ ऋण लगानी भएको थियो ।