अर्थ |

सौर्य आयोजनाको काम अन्तिम चरणमा

दैलेख समाचारदाता

दैलेख, माघ १२ गते । जिल्लाको महावु गाउँपालिका–३ बासीको रिठ्ठामा निर्माणाधीन १२० किलोवाटको जगनाथ भैरव सोलार मिनिग्रिड आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गरी बासी रिठ्ठाका ४६६ घरधुरीमा जडान गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको छ करोड ५३ लाख रुपियाँको लगानीमा गोरखा कस्मिक जेभी काठमाडौँ ठेक्का दिएको हो । ठेकेदार कम्पनीका सिनियर प्राविधिक गोकर्ण आलेले आयोजनाको काम ९० प्रतिशत सम्पन्न भएको दाबी गर्नुभयो । उहाँले गत फागुनमा सम्झौता भए पनि कोरोनाका कारण काम साउन महिनादेखि सुरु भएको र पावरहाउस निर्माण भएपछि अन्य पोलिङको काम सुरु गरिएको जानकारी दिनुभयो ।

यो आयोजनामा ३२५ वाट क्षमताका ३७० हजार सोलार पाता जडान गरिएको छ, जसबाट १२० किलोवाट मेगावाट विद्युत् उत्पादन हुनेछ । यो प्लान्टले २४ घण्टा विद्युत् उत्पादन गर्नेछ । यसैबीच, जगनाथ भैरव सोलार मिनिग्रिड आयोजना उपभोक्ता समितिले पावरहाउस निर्माण र पक्की शौचालय निर्माणको सार्वजनिक सुनुवाइ गरेको छ ।

उपभोक्ता समिति र कम्पनीबीच १७ लाख रुपियाँमा निर्माण गर्ने सम्झौता भए पनि पावरहाउस र पक्की शौचालय निर्माण गर्न २९ लाख रुपियाँ खर्च भएपछि सार्वजनिक सुनुवाइबाट खर्चको अनुमोदन पनि गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष धनबहादुर मल्लले पावरहाउस निर्माण गर्दा उपभोक्ताले दुई दिन श्रमदान गर्ने निर्णय भए पनि उपभोक्ताले नै श्रमदान नगरेको र कोरोना महामारीबीच आयोजना निर्माणको काम थाल्दा आफ्नो १३ लाखभन्दा बढी व्यक्तिगत लगानी लागेको बताउनुभयो ।