अर्थ |

डेढ दशकमा पनि बनेन लघुविद्युत योजना

जाजरकोट समाचारदाता
जाजरकोट, माघ १६ गते । जाजरकोटको कुशे गाउँपालिका—४ मा निर्माणाधिन एक लघु जलविद्युत आयोजना १५ बर्षदेखि अलपत्र परेको छ । २०६३ सालमा दुई बर्षमा सक्ने गरी सम्झौता भएर अर्छानीमा निर्माण थालिएको तिलिङ्गेखोला लघु जलविद्युत आयोजना अलपत्र परेको हो ।

मनास्लु इनर्जी काठमाडौं र स्थानीय उपभोक्ताले निर्माणमा लापरवाही गर्दा विद्युत आयोजना अलपत्र परेको छ । दुई बर्षमा सक्ने गरी सम्झौता भएपनि १५ बर्ष वित्दासम्म तीन किलोवाट क्षमताको विद्युत निर्माण नहुँदा स्थानीयहरु अँध्यारोमा बस्न बाध्य छन् ।
३५५ घरधुरीहरु लाभान्वित हुने भनिएको लघु जलविद्युत निर्माणका सामग्री पाँचकाटिया, थलह, सल्लीबजारलगायतका स्थानमा छरपस्ट भएको स्थानीयबासी बताउँछन् । १५ बर्ष वित्दा समेत स्थानीय सरकार, प्रशासनले कुनै वास्ता नगरेको उनीहरुको दुःखेसो छ ।

उपभोक्ता समितिको लापरवाही र आर्थिक अनियमितताका कारण योजना अलपत्र परेको स्थानीय कविन्द्र जैसीको आरोप छ । आएको पैसा सबै उहाँहरुले आफ्नो खातामा राखेर खर्च गरेकोले विद्युत अलपत्र परेको अर्का स्थानीय देवीप्रसाद रेग्मीले बताउनुभयो । बत्ती बाल्न पाइन्छ भनेर तुम्ती, ताँगाचौर, फलफुल्याका स्थानीयले गरिवी निवारण कोषको समूहमा उठाएको पैसा समेत लघु जलविद्युतमा लगाइएको थिए । तर निर्माणको काम राम्ररी थालन गर्न नसक्दा आयोजना अलपत्र परेको रेग्मीको भनाइ छ ।

ठेकेदार कम्पनी र उपभोक्ता समितिले आफ्नो जिम्मेवारी पूरा नगरेर आएको बजेट दुरुपयोग स्थानीयको आरोप छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, तत्कालीन जिविस, गाविस र कुशे गाउँपालिकाबाट उक्त आयोजनामा तीन करोड रुपियाँ खर्च भइसकेको स्थानीय बासिन्दा छविराज सिंहले बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष रणबहादुर शाहीले उपभोक्ता समितिको पदाधिकारीभित्रको विवादले आयोजना निर्माणमा ढिलाई भएको स्वीकार गर्दै योजना संचालनका लागि आफूले पहल गरेता पनि रकम अभावमा सम्पन्न गर्न नसकेको बताउनु भयो । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले अलपत्र योजना जसरी पनि सम्पन्न गराउनका लागि उपभोक्ता समितिलाई निर्देशन दिएको र यदि सम्पन्न नगरे कारवाही गरिने चेतावनी दिनुभयो ।