अर्थ |

सिमेन्ट उद्योगीमाथिको आक्षेप गलतः संघ

गोरखापत्र समाचारदाता
काठमाडौ माघ १६ गते । चुनढुंगाको अनियमित उत्खनन् गरेको अभियोग लागेका सिमेन्ट उद्योगीहरुको नेपाल सिमेन्ट उत्पादक संघले बचाउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत सोमबार खानी तथा भूगर्भ विभागका महानिर्देशक सहित नौ सिमेन्ट उद्योग र त्यसका सञ्चालकविरुद्ध राजस्व छली गरेको अभियोगमा विशेष अदालत काठमाडौमा मुद्दा दायर गरेको थियो । सो प्रकरणमा उद्योगीहरुले गलत काम नगरेको दाबी संघले गरेको हो ।

संघका अध्यक्ष ध्रुव थापाले अभियोग लागेका उद्योगहरुले तत्कालीन बजार माग अनुसार धेरै चुन ढुंगा उत्खनन गरे पनि समग्र परिमाणको सिमा भित्र नै रहेर निकालेको दाबी गर्नुभयो । अनुमतिपत्रमा तोकिएको वार्षिक परिमाण भन्दा केहि थपघट उत्खनन् गरेतापनि कुल तोकिएका समयमा तोकिएभन्दा वढि परिमाण उत्खनन् गरेका छैनन्, थापाले भन्नुभयो, “अधिक मात्रामा निकालियो भनेका बेला पनि जति परिमाण उत्खनन् गरेको सोहि आधारमा तोकिए बमोजिमको रोयल्टी (शुल्क) बुझाउँदै आएका छन् । यति हुँदा हुँदै पनि अहिले बदनीयत पूर्ण तरिकाले उद्योगीलाई बदनाम गरिएको छ ।”

संघले शुक्रबार एक विज्ञप्ती जारी गरेर प्रत्येक महिनामा खानी तथा भूगर्भ विभागले उत्खनन् गरेको परिमाण अनुसारको रोयल्टी (शुल्क) समेत बुझिसकेको र स्थानीय निकायमा बुझाउनुपर्ने शुल्क समेत समयमा नै उद्योगहरुले बुझाई सकिएको जनाएको छ ।
२०७२ सालका भूकम्प तथा सोहि वर्षको नाकावन्दिका कारण मुलुक आक्रान्त रहेको वेलामा आर्थिक वर्ष ०७३/७४ र ०७४/७५ मा पुनः निर्माण तथा अन्य विकास निर्माणका कार्यमा गति दिनका लागि थप सिमेन्टको आवश्यकता भएकै कारण उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट समेत उद्योगीहरुलाई पटक–पटक बोलाई यथाशक्य वढि उत्पादन गर्न अनुरोध गरेको स्मरण संघले गरेको छ ।

“सोही कारण ती दुई वर्ष उद्योगीहरुले पनि आ–आफ्नो क्षमताले भ्याएसम्म थप उत्पादन गर्नसोहि अनुपातमा नियमानुसार रोयल्टी (शुल्क) तिरी चुनढुङ्गा उत्खनन् गरेका हुन्,”अध्यक्ष थापाले भन्नुभयो । त्यस्तै सो वर्ष अधिक उत्खनन गरेकोमा उद्योगीहरुले हदैसम्मको जरिवाना पनि तिरिसकेको जनाइएको छ । देशमा हाल करीव ६५ वटा सिमेन्ट उत्पादन गर्ने उद्योगहरु संचालनमा रहेकोमा क्लिङ्करमा आधारित सिमेन्ट उद्योगहरु करीव २१ वटा छन ।