अर्थ |

सेज र उद्योगीबीच विवाद

भैरहवा समाचारदाता

भैरहवा, माघ १७ गते । मापदण्डअनुसार उत्पादित वस्तु निर्यात नगर्दा भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) र उद्योगीबीच विवाद उत्पन्न भएको छ । विशेष आर्थिक क्षेत्र (सेज)मा स्थापना भएका उद्योगले उत्पादनको न्यूनतम ६० प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान छ तर भैरहवा सेजमा स्थापना भएको शक्ति मिनरल्सले तोकेको मापदण्डअनुसार निर्यात नगरेपछि सेज र उद्योगीबीचको विवाद बढ्दै गएको हो ।

सेजले मङ्सिर १५ गते शक्ति मिनरल्सलाई तोकेको मापदण्ड पूरा नगरेको भन्दै उत्पादित वस्तु स्थानीय बजारमा बिक्री वितरण गर्न रोक लगाएको थियो । विशेष आर्थिक क्षेत्र संशोधन ऐन २०७५ को दफा ६ मा उद्योगले आफ्नो उत्पादनको कम्तीमा ६० प्रतिशत निर्यात गर्नुपर्ने उल्लेख गरिएको छ तर सेजले भने शक्ति मिनरल्सले हालसम्म उक्त मापदण्ड पूरा नगरेको बताएको छ ।

शक्ति मिनरल्सले माइलस्टोन ग्रिड, पाउडर, बाइप्रोडक्ट उत्पादन गरी आन्तरिक बजारमा पठाउने गरेको छ । शक्ति मिनरल्सले आर्थिक वर्ष २०७६/७७ मा २३ दशमलव ८४ प्रतिशत मात्र निर्यात गरेको थियो । त्यस्तै गत आर्थिक वर्षमा दुई दशमलव ५६ प्रतिशत र चालू आर्थिक वर्ष २०७८/७९ मा ११ दशमलव ५१ प्रतिशत निर्यात गरेको छ । सेज ऐनअनुसार निर्यात नगरेपछि भैरहवा कार्यालयले आन्तरिक बजारमा बिक्री वितरण रोक लगाउनुका साथै ६० प्रतिशत निर्यात गर्न निर्देशन दिएको थियो ।

सञ्चालक समितिले गर्नुपर्ने काम कार्यालयले गरेको भन्दै शक्ति मिनरल्सले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा उत्प्रेरणा परमादेशको माग गर्दै मुद्दा हालेको थियो । तोकिएको सेवासमेत नदिएर सेज उदासीन बनेका कारण अपेक्षित निर्यात गर्न नसकिएको शक्ति मिनरल्सका प्रोजेक्ट म्यानेजर दीपक झाले बताउनुभयो । तर सेजका प्रमुख कार्यकारी अधिकृत चण्डिकाप्रसाद भट्टले भने दिनुपर्ने सबै सेवासुविधा दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सञ्चालक समितिले गर्नुपर्ने काम कार्यालयले गरेको भन्दै मुद्दा दायर गरिएको थियो । अदालतको निर्णयपछि सञ्चालक समितिले निर्णय गरिसकेको छ । ” सञ्चालक समितिले शक्ति मिनरल्सलाई ऐनको पालना गर्न निर्देशन दिएको छ । यदि पालना नभएमा ऐनबमोजिम कारबाही गर्ने भट्टको भनाइ छ ।

सेजमा अहिले शक्ति मिनरल्सबाहेक ब्रिलियन्ट लाइटनिङ इन्डस्ट्रिज प्रालि, भिस्टार ग्लोबल प्रालि, पञ्चकन्या एसएस एक्स्पोर्ट, एस पोलिफर्म, जय बुद्ध मेटल क्राफ्ट प्रालिले उत्पादन सुरु गरेका छन् । सेज ऐनमा उद्योगको स्थापना भएको एक वर्षसम्म आन्तरिक बजारमा बिक्री गर्ने सुविधा छ । शक्ति मिनरल्स, ब्रिलियन्ट लाइटनिङ इन्डस्ट्रिज प्रालि, भिस्टार ग्लोबल प्रालिबाहेकका अन्य उद्योगले भने स्थापनाको एक वर्ष पूरा गरेका छैनन् ।

सेजमा स्थापना भएका अन्य उद्योगमा आर्थिक वर्ष २०७६/७७ मा ब्रिलियन्ट लाइटले ५८ दशमलव ७३ प्रतिशत, भिस्टार ग्लोबलले शतप्रतिशत निर्यात गरेका छन् । विशेष सेवा सुविधासहित देशका विभिन्न ठाउँमा सेजको स्थापना गरिए पनि अपेक्षित कार्य नगर्दा अहिले सेजप्रति उद्योगको चासो घट्न थालेको छ । आधारभूत आवश्यकता एवं सेजले परिकल्पना गरेको एकद्वार प्रणालीलगायत सेवा प्रवाह नभएपछि उद्योगी सेजमा उद्योग स्थापना गर्न अनिच्छुक देखिएका छन् । काभ्रे, सिमरालगायतका स्थानमा सेज स्थापना भए पनि हाल भैरहवामा मात्रै केही उद्योग स्थापना भएका छन् ।