अर्थ |

माथिल्लो स्याँगेखोला जलविद्युतको परीक्षण उत्पादन

बेलिना थापा
लमजुङ, माघ २१ गते । लमजुङमा निर्माण भएको २.४ मेगावाटको माथिल्लो स्याँगेखोला जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ ।

मस्र्याङदी गाउँपालिका–४ मिप्रामा निर्माण सम्पन्न भएको आयोजनाको शुक्रबार परीक्षण गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । आयोजनाका इन्जिनियर जीवन केसीका अनुसार आयोजनाको शुक्रबार एक दिन परीक्षण भएको छ ।

नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौंबाट एकजना प्राविधिक र लमजुङ वितरण केन्द्रबाट एकजना प्राविधिक आएर परीक्षण गरिएको हो । आयोजनाको सिभिल संरचना तथा जडान भएका उपकरणहरूको परीक्षण यसअघि नै सकिएको र अहिले प्राविधकरणबाट परीक्षण गरिएको हो । आयोजनामा जडान भएको हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल उपकरण ठिक छन् कि छैनन् भनी गरिएको परीक्षण सफल भएपछि परीक्षण उत्पादन भएको हो । संरचना तथा उपकरणको परीक्षणको चरण पूरा भएकोले उत्पादन परिक्षण सुरु गरिएको उहाँले बताउनुभयो ।

आयोजनाको विद्युत ३३ केभी प्रसारण लाइनमार्फत १२ किलोमिटर दुरीमा रहेको खुदीको थाकनबेंसीमा सबस्टेसनमा जोडिएको छ । सबस्टेशनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैँले निर्माण गरेको जनाएको छ । अप्पर स्याँगे हाइड्रो पाव लिमिटेडले २०७४ सालबाट आयोजनाको काम सुरु गरेको थियो । निर्माण सुरु भएको चार वर्षमा सम्पन्न भएको हो । आयोजना ४६ करोड १० लाख ८४ हजार रुपियाँमा सम्पन्न भएको छ ।

‘नेपाल विद्युत प्राधिकरणका प्राविधिक टोली आएर उत्पादन परीक्षण सुरु भएको छ । आयोजनाबाट उत्पादन भएको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ’ उहाँले भन्नुभयो, ‘अब १५ दिनसम्म परीक्षण उत्पादन हुन्छ । यो समय उत्पादन भएको विद्युत प्राधिकरणलाई निःशुल्क दिन्छौं । त्यसपछि मात्र व्यवसायिक उत्पादन सुरु हुन्छ ।’

परीक्षण उत्पादनको चरण सम्पन्न भएपछि मात्रै व्यवसायिक उत्पादन सुरु गरिने आयोजनाले जनाएको छ । आयोजनाबाट वार्षिक १४.६१६ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । हिउँदमा २.८६८ गिगावाट घण्टा र बर्खामा ११.७४८ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ । आयोजनाले २०७६ जेठभित्रै विद्युत उत्पादन गर्ने लक्ष्य लिएको थियो । विभिन्न समस्याका कारणले गर्दा उत्पादनमा ढिला भएको हो ।