माथिल्लो तामाकोसीको उत्पादन दिउँसोभन्दा साँझ–बिहान बढी
चरीकोट, माघ २२ गते । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा रहेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको उत्पादन दिनमा भन्दा साँझ बिहानमा बढी हुने गरेको छ ।
साँझ, बिहानमा विद्युत् माग बढी हुने भएकोले दिनमा भन्दा बढी साँझ, बिहानको समयमा विद्युत् उत्पादन हुने गरेको आयोजनाका प्रशासन वरिष्ठ प्रमुख मित्रमणि पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ६ बजेदेखि १० बजेसम्म र साँझ ६ बजेदेखि १० बजेसम्म ३५० मेगावाटसम्म उत्पादन हुन्छ । दिनमा ३० देखि ४० मेगावाट मात्र उत्पादन हुने गरेको छ । दिनमा भन्दा रातमा विद्युत् खपत हुने गरेकाले छवटै युनिटमा उत्पादित विद्युत् मागअनुसार उत्पादन गरिएको प्रशासन वरिष्ठ प्रमुख पोखरेलले जानकारी दिनुभयो ।
मङसिरदेखि जेठसम्म सुक्खा समयमा पानीको सतह घट्दै जाने हुँदा पिक आवरबाहेक उत्पादन घट्नु स्वाभाविक रहेको उहाँको स्पष्टोक्ति छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृह गोँगर–खिम्ती २२० केभी डबल सर्किट प्रसारण लाइनबाट न्यु खिम्ती सबस्टेसनसम्म र त्यहाँबाट खिम्ती–ढल्केबर ४००÷२२० केभी प्रसारण लाइनमार्फत विद्युत् वितरण भइरहेको छ । गत असारमा पहिलो युनिटबाट उत्पादन थालिएको आयोजनाको भदौ अन्तिमसम्ममा छवटै युनिट सञ्चालनमा आएको थियो ।