केन्द्रीय बैङ्कको नयाँ निर्देशन : सेवामा अन्तरआबद्धता अनिवार्य
गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २२ गते । नेपाल राष्ट्र बैङ्कबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक र सेवा प्रदायकबाट सञ्चालित साना मूल्यका भुक्तानी उपकरण तथा सेवाजस्तै मोबाइल बैङ्किङ, मोबाइल वालेट, क्यूआर कोडलगायतका सेवामा अन्तरआबद्धता अनिवार्य हुने भएको छ ।
नेपाल राष्ट्र बैङ्कले शुक्रबार एक परिपत्र जारी गर्दै भुक्तानी प्रणाली अन्तरआबद्धता तथा पहुँचसम्बन्धी अनिवार्य व्यवस्था गरेको हो ।राष्ट्र बैङ्कको निर्देशनपछि भुक्तानी प्रणाली सञ्चालकको एउटा सेवाबाट अर्को सेवामा भुक्तानी गर्न सकिने भएको छ । यद्यपि केही भुक्तानी सेवा प्रदायक कम्पनीले एक आपसमा यस्तो प्रणालीको विकास गरिसकेका छन् ।
निर्देशन हाललाई नेपाल राष्ट्र बैङ्कबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकबाट सञ्चालित साना मूल्यका भुक्तानी उपकरण तथा सेवा, जस्तैः मोबाइल बैङ्किङ, मोबाइल वालेट, क्यूआर कोड, साना मूल्यका भुक्तानी प्रणालीमा आबद्ध अन्य सहभागी संस्था, समयसमयमा साना मूल्यका भुक्तानी प्रणालीअन्तर्गत पर्ने गरी परिभाषित गरेका कुनै पनि साना मूल्यका भुक्तानी उपकरणमा लागू हुने जनाएको छ ।
राष्ट्र बैङ्कले अन्यथा तोकेको अवस्थामा बाहेक, नेपालमा साना मूल्यका भुक्तानी प्रणाली सञ्चालन गर्ने वा साना मूल्यका भुक्तानी उपकरण जारी गर्ने सबै अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवाप्रदायक संस्थाले यससम्बन्धी अन्तर्राष्ट्रिय असल अभ्यासद्वारा स्थापित प्राविधिक तथा व्यावसायिक मापदण्डको पालना गर्नुपर्ने जनाएको छ ।
कुनै संस्थाले सेवा सञ्चालन गर्दा यस्तो मापदण्ड पालना गर्न नसक्ने स्थिति सिर्जना भएमा राष्ट्र बैङ्कको पूर्वस्वीकृति लिएर सेवा सञ्चालन गर्नुपर्ने निर्देशनमा उल्लेख छ । साना मूल्यका भुक्तानी प्रणाली सञ्चालन गर्न अनुमतिपत्र प्राप्त संस्थाले अन्य कुनै पनि अनुमतिपत्र प्राप्त संस्थालाई आफ्नो भुक्तानी प्रणालीमा पहुँच रोक्ने गरी नियम बनाउन वा प्रविधिको प्रयोगमा रोक लगाउन नपाउने पनि निर्देशनमा उल्लेख छ ।
भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकले अन्तरआबद्धतासम्बन्धी सेवा दिँदा सेवाग्राहीबाट प्राप्त तथ्याङ्कको सुरक्षा तथा गोपनीयता कायम गर्नुपर्ने व्यवस्था गरेको छ । साथै तोकिएको सेवा प्रवाह गर्दाबाहेक अन्यत्र त्यस्तो तथ्याङ्कको प्रयोग नहुने सुनिश्चितता गर्न राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।
विद्युतीय कारोबार गर्दा सजग हुन आग्रह
विद्युतीय माध्यमबाट हुने कारोबार विस्तारित भइरहँदा विभिन्न माध्यमको प्रयोग गरी ठगी हुने गरेको गुनासो बढेको भन्दै नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणलाई सजग हुन आग्रह गरेको छ । विद्युतीय माध्यमबाट हुने बैङ्किङ कारोबारमा अनेकौँ ठगी धन्दा मौलाएको भन्दै राष्ट्र बैङ्कले सजग हुन सबैलाई आग्रह गरेको हो । राष्ट्र बैङ्कले शुक्रबार एक सूचना जारी गर्दै विद्युतीय माध्यमबाट वित्तीय कारोबारमार्फत हुने जोखिम औँल्याउँदै सर्वसाधारणलाई सजग हुन आग्रह गरेको हो ।
कोरोना सङ्क्रमणयता नेपालमा विद्युतीय कारोबार बढ्दो क्रममा छ । विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति र समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भइरहेको भन्दै उल्लेखित विषयमा विशेष ध्यान दिन राष्ट्र बैङ्कले सजग हुन आग्रह गरेको छ ।
सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैङ्कबाट फोन गरेको भनी इन्टरनेट बैङ्किङ अथवा मोबाइल बैङ्किङको युजर नेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचना लिने, ठूलो रकमको चिट्ठा परेको भनी लोभ देखाई उक्त चिट्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्नेलगायतका ठगी भइरहेको जानकारीमा आएकाले विद्युतीय कारोबार गर्दा यस प्रकारको ठगीबाट बच्न विशेष ध्यान दिन जरुरी भएको राष्ट्र बैङ्कले जनाएको छ ।
अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनै पनि संवेदनशील जानकारी नदिन पनि राष्ट्र बैङ्कले आग्रह गरेको छ । मोबाइल तथा अन्य डिभाइस एवं एपका पासवर्ड बेलाबेलामा परिवर्तन गर्नुपर्ने भन्दै राष्ट्र बैङ्कले यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नुपर्नेमा जोड दिएको छ ।
सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको बेहोरा अन्य माध्यमबाट यकिन गरेर मात्र रकम पठाउनुपर्ने राष्ट्र बैङ्कको भनाइ छ । अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्न नहुने तथा यसरी अनधिकृत एप डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचना आपराधिक समूहले पत्ता लगाउन सक्नेतर्फ राष्ट्र बैङ्कले ध्यानाकर्षण गराएको छ ।
कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्यूआर कोड पठाएको अथवा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शङ्कास्पद रूपमा लिनुपर्ने तथा रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआर कोड अथवा पासवर्ड पठाउन आवश्यक नहुने राष्ट्र बैङ्कले जनाएको छ ।
कुनै पनि वेबमार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेब हो वा होइन यकिन गरेर मात्र कारोबार गर्नुपर्ने बताउँदै राष्ट्र बैङ्कले कुनै पनि वेबसाइट भरपर्दो वा विश्वसनीय छ कि छैन यकिन गर्न पनि आग्रह गरेको छ ।
विद्युतीय कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैङ्क तथा वित्तीय संस्था एवं नेपाल राष्ट्र बैङ्कको गुनासो सुनुवाइसम्बन्धी पोर्टलमा गुनासो वा उजुरी दर्ता गर्न पनि राष्ट्र बैङ्कले आग्रह गरेको छ ।