हेटौँडा सिमेन्ट नेतृत्वविहीन :उत्पादन र बिक्री दुवै प्रभावित
राममणि दाहाल
हेटौँडा, माघ २२ गते । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेड व्यवस्थापकीय नेतृत्वविहीन बन्दा उद्योगको उत्पादन र बिक्री दुवै प्रभावित बनेको छ । उद्योगका महाप्रबन्धकको पदावधि गत पुस मसान्तमा सकिएपछि पनि अर्को व्यवस्था नहुँदा उद्योगको आर्थिक तथा प्रशासनिक काममा जटिलता उत्पन्न भएसँगै उत्पादन र बिक्री प्रभावित बनेको हो । उद्योगका तत्कालीन महाप्रबन्धक प्रेमशङ्कर सिंह भएकै समयमा उद्योगको उत्पादनले गति लिन नसकेको र बिक्रीसमेत ठप्प भएको थियो ।
उद्योगको चुनढुङ्गा पोल्ने भट्टीको किल्नमा समस्या आएर तीन साताभन्दा लामो समयदेखि उद्योगको उत्पादन ठप्प भएको छ । गत पुस २८ गतेबाट बिक्री ठप्प भएकामा दुई दिनअघिबाट सीमित परिणाममा प्याकिङ गरी बिक्री गर्दै आएको उद्योग प्रशासनले जनाएको छ ।
उद्योगमा रहेको नेपाल कारखाना श्रमिक सङ्घका अध्यक्ष रामकुमार बरुवालले दुई महिनाअघि नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उद्योग सञ्चालक समितिलाई उद्योगको समस्याका बारेमा जानकारी गराउँदासमेत सुनुवाइ नभएपछि उद्योग प्रशासन अनिर्णयको बन्दी बनेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री कार्यालयसम्म महाप्रबन्धकको पदावधि सकिँदै गरेको जानकारी गराएको र सञ्चालक समितिका सदस्यले आवश्यक व्यवस्था गर्ने बताए पनि महाप्रबन्धकको जिम्मेवारी नदिएको भन्दै उहाँले भन्नुभयो, “अहिले उद्योगले दैनिक नोक्सानी खेप्नु परिरहेको छ । ” उद्योगका रहेको दुई नायब महाप्रबन्धकले समेत प्रभावकारी रूपमा काम गर्न नसकेको उहाँको आरोप छ ।
यस्तै उद्योगका एक अधिकृतका अनुसार हेटौँडा सिमेन्ट उदयपुर सिमेन्टभन्दा महँगो भएका कारण बजारमा माग छैन र प्याकिङसमेत सीमित परिणाममा हुने गरेको छ । महाप्रबन्धकले गर्ने कामका सम्बन्धमा वैकल्पिक व्यवस्था भएको छैन र उद्योगका वरिष्ठ कर्मचारीलाई जिम्मेवारीसमेत दिइएको छैन । उहाँले उद्योग महाप्रबन्धकविहीन बन्दा कर्मचारीले आफ्नो विवेकको भरमा काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
उद्योगको बिक्री महाशाखाका अनुसार गत साउनदेखि माघ १९ सम्ममा नौ लाख २९ हजार ८३६ बोरा सिमेन्ट उद्योगबाट बिक्री भएको छ । गत आर्थिक वर्षसम्म वार्षिक ३२ लाख २० हजार बोरा सिमेन्ट उत्पादन गरी बिक्री गर्ने लक्ष्य रहेको हेटौँडा सिमेन्ट उद्योगले उद्योग व्यवस्थापकीय क्षमतासँगै उत्पादन क्षमतामा ह्रास आएपछि चालू आर्थिक वर्ष २०७८/७९ बाट वार्षिक उत्पादन लक्ष्य २५ लाख बोरामा झारेको छ । यसैबीच उद्योगमा क्रियाशील तीनवटा ट्रेड युनियनले लामो समयदेखि उद्योगको महाप्रबन्धकीय जिम्मेवारी कसैलाई नदिएका कारण उद्योगको उत्पादन, आर्थिक तथा प्रशासनिक जटिलता उत्पन्न भएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको ध्यानाकर्षण गराएका छन् ।
नेपाल औद्योगिक मजदुर सङ्घ, नेपाल कारखाना श्रमिक सङ्घ र समग्र उद्योग ट्रेड युनियन नेपालले महाप्रबन्धकको पदावधि सकिन लागेको सम्बन्धमा छलफल भएको र उद्योगबाट समेत पत्राचार गरेको भन्दै उद्योगको वर्तमान समस्या समाधानका लाथि तत्काल महाप्रबन्धकको व्यवस्था गर्न माग गरेका छन् । शक्ति ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको उद्योगको ५० केजीको बोराको सिमेन्टको कारखाना मूल्य हाल ७४६.९३ रुपियाँ रहेको छ । २०४२ सालदेखि उत्पादन सुरु गरेको हेटौँडा उपमहानगरपालिका–९ स्थित हेटौँडा सिमेन्ट उद्योगको धादिङको जोगीमारा, मकवानपुरको ओखरे र भैँसेमा चुनढुङ्गा खानी रहेको छ ।