तरलता अभाव समाधान गर्न समन्वय अभाव
गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २४ गते । मुलुकमा अहिले देखिएको तरलता अभावको समस्या समाधान गर्न सरोकारवाला निकायबीच समन्वयात्मक कार्य गर्नुपर्ने एक अध्ययनले देखाएको छ । संस्था बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सीबीफिन)ले गरेको अध्ययनअनुसार नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपाल, नेपाल बैङ्कर्स एसोसिएसन, डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था एसोसिएसनसँग घनीभूत छलफल गरी समन्वयात्मक रूपमा अघि बढ्नुपर्ने सुझाव दिएको छ । बैङ्क तथा वित्तीय संस्थाका अध्यक्षको संस्था सीबीफिनले आइतबार पत्रकार सम्मेलन गरी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।
सीबीफिनले तरलता अभावको अवस्था आउन नदिनका लागि तयार गरेको अध्ययनमा विभिन्न २३ वटा सुझाव दिएको छ । बैङ्क तथा वित्तीय संस्थाका अध्यक्षको प्रतिनिधित्व हुने बैङ्क तथा वित्तीय संस्था परिसङ्घ नेपालसमेत बसी निर्णय गरेपछि सञ्चालक समितिको बैठकमा कुनै बैङ्कले आक्रामक रुपमा व्यवसाय विस्तार गरेको उदाहरण देखाउँदै अन्य बैङ्क तथा वित्तीय संस्थालाई विस्तार गर्न लक्ष्य तोक्ने सम्भावना न्यून हुने अध्ययनको निष्कर्ष छ । व्यवसाय विस्तार हुने कार्यमा कमी आई सन्तुलित व्यवसाय विस्तार हुने सम्भावना बढ्ने अध्ययनमा भनिएको छ । यो समन्वय गर्ने कार्यको पहल भने नेपाल राष्ट्र बैङ्कका गभर्नरबाट लिइदा थप प्रभावकारी हुने विश्वास अध्ययनको छ ।
सरकारले पुँजीगत खर्च समयमै गर्ने संयन्त्रको विकास गर्नुपर्ने पनि सुझावमा उल्लेख छ । सुझावमा कर्जा वृद्धिको रणनीतिलाई बैङ्क तथा वित्तीय संस्थाले पुनरवलोकन गर्ने, कोभिड–१९ ले असर पारेको कर्जालाई स्वीकार गर्ने, एसेट म्यानेजमेन्ट कम्पनी स्थापना लागि प्रक्रिया अघि बढाउने, कर्जाको ब्याजदर निर्धारण गर्ने कार्य बजारलाई छोडिदिने, ब्याजदर स्थिरता कायम गर्ने र निक्षेपको मिश्रण सुधार गर्ने नीति ल्याउने, कर्जाको मिश्रण सुधार गर्ने नीति ल्याउने, सहकारी क्षेत्रलाई नियमन गर्ने पूर्वाधार संयन्त्र बनाउनेजस्ता सुझव अध्ययनले दिएको छ ।
अध्ययन समितिका सदस्य बीएन घर्तीले बैङ्कहरूले सेयर घर कर्जामा लगानी बढाउँदा तरलतामा समस्या देखिएको बताउँदै बैङ्कहरूको कर्जा घरजग्गामा निक्षेप १ प्रतिशत बढ्दा कर्जा ९ प्रतिशत बढेको बताउनुभयो । बैङ्कर्स एसोसिएसनका पूर्वअध्यक्ष तथा नबिल बैङ्क सञ्चालक समितिका अध्यक्ष उपेन्द्र पौडेलले नियामक निकाय तथा बैङ्क दुवैको कमजोरीका कारण बजारमा तरलता अभावको समस्या बढेको बताउनुभयो ।
राष्ट्र बैङ्कले लिएको नीति र नाफा बढाउनैपर्ने बैङ्कहरूको दबाबका कारण बजारमा तरलता अभाव बढेर गएको भन्दै उहाँले भन्नुभयो, “रेमिट्यान्ससँगै विकृति पनि भित्रिएको छ, रेमिट्यान्स बढ्दा आयात पनि बढ्यो । बैङ्कहरूलाई पनि पुँजी वृद्धिको अनुपातमा नाफा बढाउनुपर्ने दबाब सिर्जना भयो, यस्तै कारणले तरलता अभाव भएको हो । ”
सीबीफिनले अध्ययन टोली नै गठन गरेर गराएको अध्ययन प्रतिवेदनले यस्तो सुझाव दिएको हो । नेपाल बैङ्कर्स एसोसिएसनका पूर्वअध्यक्ष उपेन्द्र पौडेलको संयोकत्वमा गठित समितिले तयार पारिएको अध्ययन प्रतिवेदन नेपाल राष्ट्र बैङ्कलाई पनि बुझाइसकिएको सीबीफिनले जनाएको छ । समितिको सदस्यमा पूर्वबैङ्कर बीएन घर्ती, डा. रमेशचन्द्र पौडेल र गोपालप्रसाद तिवारी हुनुहुन्छ ।