श्रमिकका लागि छुट्टै अस्पताल,सम्भाव्यता अध्ययन गर्न टोली गठन
गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २५ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रमिक अस्पताल निर्माणको सम्भाव्यता अध्ययन टोली गठन गर्नुभएको छ । श्रमिक अस्पताल निर्माणको अवधारणापत्र स्वीकृत गरी मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख शेषनारायण पौडेलको संयोजकत्वमा अस्पताल निर्माण सम्भाव्यताको अध्ययन टोली गठन गर्नुभएको हो । सो टोलीले अस्पताल सञ्चालनका लागि मानवीय, भौतिक, आर्थिक तथा व्यवस्थापकीय स्रोतसाधन, सञ्चालन मोडालिटीलगायत पक्षबारे अध्ययन गर्ने जनाइएको छ ।
अध्ययन टोलीमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशकका साथै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिका साथै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)का प्रतिनिधि रहनुभएको छ । उहाँले देशको आर्थिक विकास र समृद्धिको आधारका रूपमा रहेका लाखौँ श्रमिकलाई भरपर्दो र सर्वसुलभ स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अस्पतालको आवश्यकता महसुस गरी सम्भाव्यता अध्ययन गर्न थालिएको बताउनुभयो ।
अस्पतालको उद्देश्यमा ७० लाख बढी आन्तरिक रोजगारीमा रहेका श्रमिक तथा उनीहरूका परिवारको सदस्यका लागि कार्यस्थल दुर्घटना, मातृत्व संरक्षण, बिरामी हुँदा औषधि उपचार सुविधा उपलब्ध गराउने, पेसागत कारणले लाग्ने रोगको रोकथामका लागि अनुसन्धान, निदान एवं उपचार गर्न विशेषज्ञ अस्पताल विकास गर्ने रहेको छ ।
साथै औद्योगिक कोरिडोरमा काम गर्ने हजारौँ श्रमिक समयमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थामा रहेको भन्दै मन्त्री श्रेष्ठले श्रमिक र श्रमिकका परिवारका लागि न्यून मूल्यमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक देखिएकाले श्रमिक अस्पतालको अवधारणा ल्याइएको स्पष्ट पार्नुभएको छ ।
यस्तै योगदानमा आधारिक सामाजिक सुरक्षा कार्यक्रमले उपलब्ध गराउने श्रमिकको स्वास्थ्य उपचारसम्बन्धी व्यवस्था कार्यन्वयन गराउनुका साथै वैदेशिक रोजगारीबाट फर्केका श्रमिक तथा उनीहरूका परिवारको सदस्यका लागि समेत सहुलियतमा उपचार सेवा उपलब्ध गराउने उल्लेख छ ।