दूध प्रतिलिटर पचासी रूपियाँ
गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ २७ गते । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ निर्धारण गरेको छ । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो । यसअघि मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६.५२ रुपियाँ वृद्धि गरी ५६.०४ रुपियाँ निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपियाँ थियो ।
मन्त्रिपरिषद्को निर्णय आइसकेपछि कृषि मन्त्रालयले उपभोक्ताको लागि प्रशोधित दूधको मूल्य निर्धारण गर्ने जिम्मेवारी डीडीसीलाई दिएको थियो । डीडीसीले उपभोक्ता मूल्य निर्धारण गरिसकेपछि त्यसैको आधारमा निजी डेरी उद्योगीले पनि मूल्य निर्धारण गर्छन् । यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपियाँ थियो । त्यसमा नौ रुपियाँ वृद्धि गरी ८५ रुपियाँ बनाएको डीडीसीले जनाएको छ ।
वृद्धि भएको नौ रुपियाँमा प्रतिलिटर ६.५२ रुपियाँ किसानका लागि वृद्धि भएको छ भने प्रतिलिटर २.४८ रुपियाँ उद्योगीका लागि वृद्धि भएको डीडीसीले जनाएको छ । उद्योगीले प्रतिलिटर १० रुपियाँ वृद्धि गर्नुपर्ने माग गरेका थिए । १० रुपियाँमध्ये सात रुपियाँ किसानको हुने र तीन रुपियाँ उद्योगीको हुने प्रस्ताव गरिएको थियो । यस्तै प्रस्ताव कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्ध विकास बोर्डले पनि गरेको थि
बोर्डबाट दूधको मूल्यबारे अध्ययन गर्नुभएका नेपाली डेरी साइन्स एसोसिएसनका सदस्य एवं डेरीविज्ञ डा. विनोद गुप्ताका अनुसार एक लिटर दूध उत्पादन गर्न औसत ६७.०७ रुपियाँदेखि ४५.३७ रुपियाँ खर्च हुने गरेको देखिएको छ । अध्ययन गरेको जिल्लामा दूध उत्पादनको प्रतिलिटर औसत दाना खर्च २५.०७ रुपियाँ रहेको छ । सबभन्दा बढी प्रतिलिटर दानामा खर्च गर्ने जिल्ला बाँकेमा ३३.८९ रुपियाँ र काभ्रेमा २०.३३ रुपियाँ हुने गरेको छ ।
सप्तरीमा २०.९६, इलाममा २१.१५, चितवनमा २३.२१, कैलालीमा २४.५९, रुपन्देहीमा २४.६०, मोरङमा २५.०० प्रतिशत, सर्लाहीमा २६.४४, कास्कीमा ३१.०० र सुर्खेतमा ३३.८९ रुपियाँ दानामा खर्च हुने गरेको अध्ययनले देखाएको छ । उद्योगी, किसान तथा सरोकारवाला राखेर एक महिना लगाएर दूधको मूल्य बारेमा बोर्डले अर्को अध्ययन पनि गराएको थियो ।
सोही अध्ययनका आधारमा कृषि मन्त्रालयलाई मूल्य निर्धारणको प्रस्ताव गरेको थियो तर मन्त्रिपरिषद् र डीडीसीले केही घटाएर मूल्य निर्धारण गरेको हो । दूधको मूल्य फ्याट र एसएनएफको आधारमा निर्धारण भएको कृषि मन्त्रालयका सहसचिव डा. लोकनाथ पौडेलले जानकारी दिनुभयो । हाल दूधको न्यूनतम फ्याट ४ प्रतिशत र एसएनएफ (घृतांशबाहेकको ठोस पदार्थ) ८ प्रतिशत कायम गरिएको छ ।