अर्थ |

लक्ष्यभन्दा कम धान खरिद

सिराज खान

नेपालगञ्ज, माघ २९ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले लक्ष्यभन्दा कम धान किनेको छ । कम्पनीले बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा एक हजार ७०० क्विन्टल मात्रै खरिद गरेको हो ।

कम्पनीको नेपालगञ्ज शाखाले धान खरिदका लागि ८५० किसानलाई टोकन वितरण गरे पनि ७१ जना किसानबाट एक हजार ७०० क्विन्टल मात्र धान खरिद गरेको छ । मङ्सिर २६ गतेदेखि धान खरिद गर्न सुरु गरेकामा शुक्रबारदेखि बन्द गरिएको कम्पनीका नेपालगञ्ज शाखा प्रमुख रामबहादुर विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म मोटा धान ८६५ क्विन्टल र मध्यम धान ८३५ क्विन्टल खरिद गरिएको छ । समयावधि सकिए पनि छुट भएका किसान आएमा केही दिन धान खरिद गर्न सकिने विष्टले बताउनुभयो । सुरुमा धान बिक्री गर्न ८५० किसानले टोकन लिए पनि अधिकांशको धान कम्पनीको मापदण्डअनुरूप नभएको प्रमुख विष्टले बताउनुभयो ।

उहाँले ११० जना किसान धान बिक्रीका लागि आएकामा मापदण्ड पुगेका ७१ किसानको धान मात्र धान खरिद गरिएको बताउनुभयो । अधिकांश किसानले पानीमा भिजेको धान लिएर आउन थालेपछि बाध्य भएर फिर्ता पठाउनुपरेको कम्पनीले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद नगरेकोप्रति किसानले असन्तुष्टि जनाएका छन् ।

कम्पनीले अप्ठ्यारो र किसालाई मर्का पर्ने मापदण्ड बनाएर किसानबाट धान खरिद नगरेको आरोप किसानले लगाएका छन् । राम्रो धानलाई पनि वर्षामा भिजेको भनेर कम्पनीले खरिद नगर्दा आफूहरू बाध्य भएर बजारमा निकै सस्तोमा बिक्री गर्नुपरेको गुनासो डुडुवाका किसान नरेश बर्माले गर्नुभयो । साढे सात सय किसानले कम्पनीलाई धान बिक्री गर्न नपाएको बताउनुभयो । नौबस्ताका किसान दीपेन्द्र चौधरीको गुनासो पनि यस्तै छ । उहाँले राम्रा धानलाई पनि कम्पनीले फिर्ता गरेकाले व्यवसायीसँग मिलेमतो भएको आरोप लगाउनुभयो ।