अर्थ |

अन्नपूर्ण चिनी मिल सञ्चालन हुने

सर्लाही समाचारदाता

सर्लाही, फागुन ३ गते । दुई वर्षदेखि बन्द रहेको अन्नपूर्ण चिनी उद्योग सञ्चालन हुने भएको छ । सोमबार बिहान चिनी उद्योग सञ्चालन हुनुपूर्व गरिने डोङ्गा पूजा गरेर उद्योग सञ्चालन गर्ने निश्चित भएको हो । अब एक/दुई दिनभित्रै उखु क्रसिङ सुरु गरिने उद्योगका सञ्चालक शैलेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो ।

किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन नसक्दा यो उद्योग दुई वर्ष सञ्चालनमै आउन सकेको थिएन । यस वर्ष नयाँ उद्योगीले उद्योग खरिद गरेर सञ्चालनमा ल्याएका हुन् । सर्लाहीको धनकौलमा रहेको यो उद्योगले अधिकांश किसानको भुक्तानी गरिसकेको जानकारी दिँदै कसैको भुक्तानी लिन बाँकी रहेको भए सम्पर्क गर्न आग्रह गरेको छ ।

सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी उद्योग हरिवन र बगदहको महालक्ष्मी चिनी उद्योगले अहिले धमाधम उखु क्रसिङ गरिरहेका छन् । यी दुवै चिनी मिल गएको पुसमध्यबाट सञ्चालनमा आएका हुन् । दुवै उद्योगले किसानलाई उखुको भुक्तानी दिन
थालिसकेका छन् ।