अर्थ |

सहुलियत पुनर्कर्जाको समयावधि बढाउन व्यवसायीको माग

लक्ष्मण पौडेल
भैरहवा, फागुन ३ गते । उद्योगी व्यवसायीहरुले सहुलियत पुनर्कर्जाको समयावधि बढाउन माग गरेका छन् । कोभिड सङ्क्रमणका कारण व्यापार व्यवसाय ओरोला लागेको र बैंकको ब्याज तिर्न समस्या परेको भन्दै उनीहरुले आगामी दुई वर्षसम्म सहुलियत पुनर्कर्जा पाउनुपर्ने माग गरेका हुन् ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीअन्तर्गत पर्यटन प्रवद्र्धन उपसमितिको बैठकमा सहभागी उद्योगी व्यवसायीले यस्तो माग गरेका हुन् । व्यवसायीहरु बैंकको क्रृण र ब्याज तिर्न नसक्दा व्यवसायबाटै पलायन हुने अवस्था आउन लागेको भन्दै उनीहरुले सरकारले आफूहरुको मर्का बुझेर सहुलियत कर्जालाई दुई वर्षसम्म निरन्तरता दिनुपर्ने माग गरे ।

त्यस्तै, उनीहरुले बैंक ब्याजमा तथा साँवा भुक्तानीमा समय सीमा थप हुनुपर्ने माग पनि गरेका छन् । कोरोनाले पारेको प्रभावका कारण सहज रुपमा व्यवसाय गर्न अप्ठ्यारो भएकोले आफूहरुले उठाएका विषयहरु समाधान उद्योगी व्यवसायीहरुको भनाई छ ।

त्यस्तै, पर्यटन विकासको लागि छिटोभन्दा छिटो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने, समयक्रम अनुसार आन्तरिकतर्फको पार्किङ्ग परिसर र प्रस्थान कक्षहरु विस्तार गरिनुपर्ने लगायतका माग पनि उद्योगी व्यवसायीले गरेका छन् ।

छलफलमा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुलप्रसाद न्यौपानेले संघले निरन्तर रुपमा पर्यटन उद्योगको समस्या समाधानमा पहल गरिरहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले सहुलियत कर्जालाई निरन्तरता दिन सक्ने हो भने व्यवसायीहरुलाई ठूलो राहत पुग्ने बताउनुभयो ।

महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष दीपक पौडेलले पर्यटन उद्योगीहरुको समस्या समाधानको लागि प्रदेश उद्योग वाणिज्य संघ तयार रहेको बताउनुभयो । पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक तथा सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य संजय बजिमयले छलफलमा उठेका विषयवस्तुहरु समाधानको लागि सम्बन्धित निकायहरुमा संघले पहल गर्ने बताउनुभयो ।

बैठकको सहजीकरण संघका महासचिव विजय पाण्डेले गर्नुभएको थियो । बैठकमा सिद्धार्थ होटल एशोसिएशनका पदाधिकारी, संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायत कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।