गाउँमै खुल्यो तरकारी सङ्कलन केन्द्र
कमल शर्मा
दैलेख,फागुन ३ गते । नारायण नगरपालिका–२ जाहरकोटमा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ । व्यावसायिक तरकारी खेती गरेका किसानलाई डोकोमा तरकारी बेच्नुपर्ने बाध्यता अन्त्य गर्न नारायण नगरपालिका–२ मा रहेको कृति देवल सहकारी संस्था लिमिटेडको सहयोगमा तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको हो ।
तरकारी सङ्कलन केन्द्रको उद्घाटन गर्दै नारायण नगरपालिकाका नगर प्रमुख रत्नबहादुर खड्काले उत्पादन भएको तरकारी गाउँमै सकलन हुँदा किसानको समयको बचत हुने बताउनुभयो । उहाँले यहाँको किसानले डोको बोकेर बजार जानुपर्ने बाध्यता देखेको कारण नगरपालिकाले सहकारीलाई गाडी खरिद गरिदिएको बताउनुभयो । उहाँले भन्नुभयो तीनै तहका सरकारले व्यावसायिक किसान उत्पादन गर्न लाखौँ रकम खर्च गरेको बताउँदै अनुदान बापत पाएको रकमको सही सदुपयोग गर्दै आफ्नो आय आर्जनमा वृद्धि गर्नुपर्ने बताउनुभयो ।
नारायण नगरपालिका–२ का वडा अध्यक्ष रेसमबहादुर थापाले निर्वाचनको बेला जनताबीचमा गरिएको प्रतिबद्धता अनुसार सङ्कलन केन्द्र स्थापना भएको बताउनुभयो । उहाँले निर्वाचनको बेला यहाँका किसानका बीचमा गाउँमै तरकारी सङ्कलन केन्द्र स्थापना गर्ने र सङ्कलन भएको तरकारी सहकारीले बजारीकरण गर्ने त्यसका लागि गाडी खरिद गर्ने प्रतिबद्धता गरेको थिए त्यो पूरा भएको छ । उहाँले भन्नुभयो,‘मैले राजनैतिकसँगै व्यावसायिक तरकारी खेती गर्दै आएको छु अन्य किसानलाई समेत तरकारी खेती गर्न प्रोत्साहन गर्ने गरेको छु ।’
कृति देवल सहरकारी संस्थाका अध्यक्ष दीपककुमार थापाले व्यावसायिक तरकारी खेती गरेका किसानलाई डोकोमा तरकारी बोकेर बजारमा पुगेर बेच्नुपर्ने बाध्यता अन्त्यका लागि सहकारीले सङ्कलन केन्द्र स्थापना गरेको बताउनुभयो उहाँले सहकारीले किसानले तोकेकै मूल्यमा तरकारी सङ्कलन गर्ने र सहकारीले त्यसको बजारीकरण गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो सङ्कलन केन्द्र मध्य पहाडी राजमार्गमै पर्ने भएका कारण पनि तरकारी दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, महावु गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका र ठाटिकाँध गाउँपालिकाका नागरिकले समेत खरिद गरेर लैजाने गरेका छन् ।
नारायण नगरपालिका –२ की रत्ना थापाले डोको बोकेर बिहानै तरकारी बेच्न जानुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले तरकारी बेच्न डोको बोकेर जानुपर्ने र बजारमा डुलाउनुपर्ने दुःख अत्य भएको बताउनुभयो । कृति देवल सहकारी संस्थाका शेयर सदस्य समेत रहेका किसानले आफूले उत्पादन गरेको तरकारी सहकारीलाई नै दिँदा राम्रो भएको बताउनुभयो ।