अर्थ |

ग्वारखोला हाई ड्यामको विस्तृत परियोजना तयार हुँदै

तुलसीपुर समाचारदाता

तुलसीपुर, फागुन ४ गते । दस हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउनका लागि बहुउद्देश्यीय हाई ड्यामको विस्तृत परियोजना काम सुरु भएको छ । बृहत् दाङ उपत्यका आयोजनामार्फत ग्वारखोला विस्तृत परियोजनाको काम सुरु गरिएको हो । दाङ उपत्यकामा बग्ने खोलामध्ये हाल सबैभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा पु¥याइरहेको ग्वारखोला हो ।

यो खोलाको मुहान क्षेत्र सल्यान र रोल्पाको दक्षिणी क्षेत्रमा छ । बृहत् दाङ उपत्यका आयोजनामार्फत तुलसीपुर उपमहानगरपालिका–१९ को सुँगुरखोला क्षेत्रको दुई सय मिटर दक्षिणतर्फको क्षेत्रमा हाई ड्याम निर्माणका लागि प्रारम्भिक सर्भे गरी विस्तृत परियोजना विवरणको काम केन्द्रमार्फत भइरहेको छ ।

प्रारम्भिक सर्भेमा आएको विवरणअनुसार हाई ड्याममा पाँच करोड ३० लाख घनमिटर पानी अट्न सक्ने क्षमताको हुनेछ । जलाशय निर्माण भएपछि दाङ उपत्यकाको दस हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ ।
ड्याम निर्माण भएपछि सिँचाइ सुविधा पहिलो प्राथमिकतामा राखिएको छ । खानेपानी, जलविद्युत्मा समेत उक्त ड्यामको पानी उपयोगमा ल्याउन सकिनेछ । ग्वार खोला बहुउद्देश्यीय हाई ड्यामको विस्तृत परियोजनाका लागि सम्पूर्ण फाइल आयोजनाले मन्त्रालयमा पठाएको छ । डेढ वर्षभित्र विस्तृत परियोजना तयार भई कार्यान्वयनमा जानेछ ।

आयोजनामार्फत दाङ उपत्यकाका दुई महानगरपालिका र तीन पालिकामा सिँचाइ सुविधा पुग्नेछ । आयोजनामार्फत हालसम्म १३ वटा जलाशय निर्माण भएका छन् भने ६ वटा निर्माणाधीन छन् । आयोजनाले केन्द्रमार्फत माडी– दाङ डाइभर्सनका लागि विस्तृत परियोजनाको काम समेत अगाडि बढाएको छ ।

कार्यालयका सूचना अधिकारी शान्तराज गौतमले आयोजनाको लक्ष्य २०८४ सालसम्म दाङ उपत्यकाको खेतीयोग्य ५६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने र लागत खर्च ४० अर्ब रुपियाँ अनुमान गरिएको जानकारी दिनुभयो ।
तीन वर्षको अवधिमा आयोजनाबाट जलाशय निर्माण, २५ वटा डिप ट्युबेल, जलाशयहरूको गुरु योजनालगायतका काम सम्पन्न गर्न ४८ करोड ६१ लाख रुपियाँ खर्च हुनेछ ।