अम्लिसोले राम्रो मूल्य पाएपछि किसान खुसी
चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन ५ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका किसान अम्लिसो (कुचो) को राम्रो मूल्य आएपछि हर्षित भएका छन् । अम्लिसोको व्यावसायिक खेती सुरु गरेका किसानले यसवर्ष पहिलो पटक हालसम्मकै राम्रो मूल्यसमेत पाएका हुन् ।
किसानअनुसार यसवर्ष अम्लिसोको हालसम्मकै राम्रो मूल्य प्रतिकिलोग्राम एकसय ५० रुपियाँसम्म आएको छ । थोरै लगानी र कम मेहनेतबाटै राम्रो फाइदा लिने योजनासहित व्यावसायिक रुपमा खेती सुरु गरेका किसानले गत वर्षसम्म भने सोचेजस्तो अम्लिसोको मूल्य पाउन सकेका थिएनन् । विगत आठ/दश वर्ष यतादेखि नै चाहेजस्तो अम्लिसोको मूल्य नआएको किसान बताउँछन् । यसवर्ष भने गएका वर्षहरुमा भन्दा धेरै राम्रो मूल्य आएको उनीहरुको भनाइ छ ।
सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका किसान चन्द्रबहादुर खड्काले खेती लगाएर अम्लिसो (कुचो) उत्पादन हुन थालेपछि यसवर्ष हालसम्मकै राम्रो मूल्य लिएको बताउनुभयो । खड्काका अनुसार विगतमा कुनै वर्ष प्रतिकिलोग्राम ४० देखि ५० रुपियाँ र कुनैवर्ष ६० देखि ९० रुपियाँसम्म अम्लिसोको मूल्य आएको थियो । उहाँले यो वर्ष विगतको तुलनामा राम्रो मूल्य एकसय ५० रुपियाँ आएको र घरमै बसेर उक्त मूल्यअनुसारको रकम थापेको बताउनुभयो । खड्काले यसवर्ष आफ्नो खेतीबाट उत्पादन भएको करिब दुईसय ५० किलोग्राम बिक्री गरेको बताउनुभयो ।
साब्लाखुकै अर्का किसान अमरबहादुर लिम्बूले यसवर्ष अम्लिसो बिक्री गरेर एक लाख रुपियाँ बढी आम्दानी गर्नुभएको छ । विगत वर्षमा मुश्किलले ३० देखि ४० हजार रुपियाँसम्म अम्लिसोबाट आम्दानी गर्ने गरेकोमा यो वर्ष पहिलो पटक एकलाख रुपियाँ जति आम्दानी गरेको लिम्बूले बताउनुभयो । उहाँले यसवर्ष करिव सात सय किलोग्राम अम्लिसो बिक्री गर्नुभएको छ ।
स्थानीय किसान बुद्धिराज पन्दाकले पनि यो वर्ष करिव पाँचसय ५० किलोग्राम अम्लिसो बिक्री गर्नुभएको छ । अर्का किसान कुमार इधिङ्गोले पनि यो वर्ष राम्रो मूल्यमा अम्लिसो बिक्री गर्न पाएको खुशी व्यक्त गर्नुभयो । अम्लिसोको राम्रो मूल्य आएपछि व्यापारीहरु घरघरमा आएका र यो वर्ष घरमै बसीबसी किसानले राम्रो आम्दानी लिन पाएका इधिङ्गोले बताउनुभयो । यसरी अम्लिसो खेतीमा संलग्न रहँदै आएका किसानले यसवर्ष राम्रो मूल्य लिन पाएका छन् ।
धेरै आर्थिक लगानी गर्नु नपर्ने र परिश्रम पनि थोरै गरे पुग्ने भएकाले सिदिङ्वा गाउँपालिकाको साब्लाखु लगायत अधिकांश क्षेत्रका किसानले अम्लिसो खेती गर्दै आएका छन् । अम्लिसो फूल (कुचो)बाट नगद आम्दानी हुने र बोटलाई घाँसको रुपमा प्रयोग गर्न सकिने भएकाले अम्लिसो खेतीमा किसानको आकर्षण रहने गरेको छ । यस्तै अम्लिसोका लागि पाखो जमिन भए पुग्ने साथै मटाइलो वनजङ्गल फडानी गरेर पनि अम्लिसो खेती गर्न सकिने किसान बताउँछन् ।