जुम्लाका सबै पालिकामा स्याउ सुपरजोन कार्यक्रम
नेत्र शाही
जुम्ला, फागुन ६ गते । जुम्लाका सबै स्थानीय तहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू हुने भएको छ । हालसम्म चारवटा स्थानीय तह चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका, गुठीचौर र पातारासीमा कार्यान्वयनमा आएको यो कार्यक्रम अब बाँकी स्थानीय तह सिञ्जाका हिमा, सिञ्जा, कनकासुन्दरी र तिलामा विस्तार हुने भएको हो ।
स्याउ सुपरजोन कार्यालयका निमित्त वरिष्ठ कृषि विकास अधिकृत गङ्गा पोख्रेलका अनुसार धेरै वर्षको प्रयासपछि अब जिल्लाका सबै पालिकामा स्याउ सुपरजोन कार्यक्रम लागू गर्न सफल भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ खुमलटारका निर्देशक वैकुण्ठ अधिकारीद्वारा हस्ताक्षरित पत्र बुधबार जुम्ला आइपुगेको छ ।
निर्देशक अधिकारीले स्थानीय स्तरबाट आएको माग र प्राविधिक प्रतिवेदनका आधारमा जुम्लाका तिला, हिमा, सिञ्जा, कनकासुन्दरीसहितका छुटेका क्षेत्रमा कार्यक्रम थप गर्ने काम भएको बताउनुभयो । उहाँले ढिला निर्णय भएकाले भने केही क्रियाकलापबाहेक अर्को आर्थिक वर्षबाट पूर्ण रूपमा कार्यक्रम लागू हुने उल्लेख गर्नुभयो ।
परियोजनाको सोच कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रूपान्तरित आधुनिक, व्यावसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने रहेको छ । सोहीअनुसार जुम्लामा स्याउ सुपरजोन परियोजना कार्यान्वयन एकाइ स्थापना गरी काम भइरहेको कार्यालयले जनाएको छ ।
यसैगरी परियोजनाले प्रमुख कृषि क्षेत्रको विशिष्टीकृत क्षेत्र निर्माण गर्ने, निर्यातयोग्य कृषि वस्तुको मूल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक बजारमा लैजाने उद्देश्यअनुसार सुपरजोन कार्यक्रमले लागू भएका क्षेत्रका किसानलाई प्रविधि सिकाउने, अनुदान कार्यक्रम दिने काम गर्दै आएको छ । सुपरजोन कार्यालय प्रमुख निमित्त वरिष्ठ कृषि विकास अधिकृत पोख्रेलले स्याउसँगै आर्थिक समृद्धि जोडिएको जुम्लामा यो परियोजनाले थप विकास र आर्थिक समृद्धि ल्याउने धारणा व्यक्त गर्नुभयो ।
कार्यालयका अनुसार तिला गाउँपालिकामा भने सिमी जोन कार्यक्रमसमेत लागू गरिएको छ । सिमीको उत्पादन वृद्धि तथा बजारीकरणका लागि कार्यक्रम वडा नं. १ र २ मा कार्यक्रम लागू गरिएको हो । सुपरजोन कार्यक्रम लागू भएपछि कृषि प्रविधि, हाइटेक नर्सरी, घेराबार, सिँचाइ, बिरुवा अनुदानलगायतका कामभइरहेका छन् ।