पेट्रोलियमको आशा
कमल शर्मा
दैलेखको पादुकास्थान, नाभिस्थान र शिरस्थानमा सदिऔंदेखि अखण्ड दीप प्रज्वलन हुँदैआएको छ । अध्यात्मका चिन्तकहरूले यसलाई दैविक शक्तिको रुपमा व्याख्या गर्दै आएका छन् । यद्यपि, पेट्रोलियम पदार्थको अध्ययनले दिएको निष्कर्ष छ, सो क्षेत्रमा पेट्रोलियम पदार्थको अथाह भण्डार छ । त्यो ज्वाला दैविक शक्ति नभई पेट्रोलियम पदार्थ भण्डारको सङ्केत हो ।
खानी तथा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेका विज्ञ समूहले गरेको अध्ययनबाट सो क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डारण रहेको तथ्य पत्ता लगाएको हो । टोलीले पञ्चकोसी क्षेत्रमा बगिरहेको पेट्रोलियम पदार्थ, ग्यासको उत्खनन् र सम्भावनाबारे स्थलगत अध्ययन गरेको थियो । दैलेख जिल्लाको दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका, नारायण नगरपालिकाका विभिन्न क्षेत्रलाई केन्द्रित गरी टोलीले सर्भेक्षण गरेको थियो । त्यसवाहेक चामुण्डा विन्द्रासैनी नगरपालिका, डुंगेश्वर गाउँपालिका, नौमुले गाउँपालिका, भगवतीमाई गाउँपालिकाका केही भूभाग तथा कालिकोट, जाजरकोट र अछामको छेउछाउसम्म पुगेर सर्भेक्षण कार्य गरिएको थियो ।
पेट्रोलियम पदार्थ अन्वेषणका क्रममा खनिएका १० वटा लाइनहरूको ‘सिस्मिक सर्भे’ सम्पन्न भए पनि मुख्य ‘ड्रिलिङ’ को काम बाँकी रहेको छ । ड्रिलिङको काम गत असोज महिनामा गर्ने तयारी भए पनि कोरोनाको तेस्रो लहरका कारण काम प्रभावित बनेको थियो ।
खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा.गणेशनाथ त्रिपाठीका अनुसार अन्वेषणका क्रममा खनिएका १० वटा लाईनमा मुख्य ड्रिलिङ असोजमा तयारी गरिएको थियो । कोरोनाका कारण ड्रिलिङ कार्य पछाडि धकेलिएको छ ।
ड्रिलिङ कार्यबाट पेट्रोलियम भण्डार के कस्तो अवस्थामा छ भन्ने थाहा लाग्छ । यस क्रममा पेट्रोलियम पदार्थको भण्डार अवस्था, प्रकार आयतन, व्यापारिक रूपमा उत्पादन गर्न सकिने वा नसकिने, पेट्रोलियमको मात्रालगायत विषयमा विश्लेषण गरिन्छ । सोको विश्लेषण गरी प्रमाणित भण्डार व्यापारिक प्रयोजनका लागि उपयुक्त छ वा छैन भन्ने जानकारीका लागि मुख्य ड्रिलिङ गर्नुपर्ने भूगर्भविद् डा.त्रिपाठीको भनाई छ । बाँकी कार्य सम्पन्न गर्नका लागि खानी तथा भू–गर्भ विभागले चाइनाको प्राविधिक टोलीलाई पत्राचार गरे पनि चाइना सरकारले भिसाको अनुमति नै नदिएको बताइन्छ । सो कारण चिनियाँ प्राविधिक टोली नेपाल आउन समस्या परेको छ । चिनियाँ प्राविधिक टोलीले सङ्कलन गरेका स्रोत र चट्टानको नमुना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको जनाइएको छ । भूगर्भविद् डा. त्रिपाठीका अनुसार जमिन मुनी पेट्रोलियम पदार्थलाई थुनेर राख्न सक्ने भौगर्भिक संरचनाको यथेष्ट प्रमाण अनुसन्धानमा पाइएको थियो ।
भूगर्भविद् डा. त्रिपाठीका अनुसार, सतहमै देखिएका ग्यास तथा तेलको चुहावट, पेट्रोलियम बन्न आवश्यक चट्टान र त्यसलाई भण्डार गर्न सक्ने खालका चट्टान, पेट्रोलियम पदार्थ थुनेर राख्न सक्ने खालका चट्टान र उपयुक्त भौगर्भिक संरचनाहरूले दैलेखमा पेट्रोलियमको भण्डार हुनसक्ने बलियो सम्भावना छ ।
अन्वेषणका लागि पेट्रोलियम जिओलाजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जिओ केमिकल स्याम्पलिङका साथै सेस्मिक सर्भे गर्नुपर्छ । सेस्मिक सर्भे अन्तर्गत कृतिम भूकम्प सिर्जना गरिन्छ । कृतिम भूकम्पीय तरङ्ग जमिनको सतह मुनिको धेरै गहिराईसम्म पठाइन्छ । सतह मुनि ठोक्किएर फिर्ता भएका भूकम्पीय तरङ्गलाई सतहमा गाडिएका सेन्सरहरूमा रेकर्ड राखिन्छ । गहिराईबाट परावर्तन भई आएका तरङ्गको प्रशोधन गर्ने र प्रशोधनबाट तयार भएका तरङ्गको सूक्ष्म अध्ययन गरी पेट्रोलियम पदार्थको भण्डार हुनसक्ने भौगर्भिक संरचना पहिचान गरिन्छ । सो कार्य सम्पन्न भए पनि अनुसन्धानका थप कार्य कोरोना कारण प्रविभात बनेको विभागले जनाएको छ ।
कारण जे भए पनि पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन्को कार्य सुस्त भएको छ । यद्यपि, स्थानीय बासिन्दा पेट्रोलियम पदार्थको अध्ययन चाँडै सम्पन्न गरी उत्खनन हुनेमा आशावादी छन् । २०७६ असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् अन्तर्गतको पहिलो चरणको काम सकिए पनि थप काम बाँकी नै छन् । भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेबीच ‘नेपाल–चाइना पेट्रोलियम ग्यास तथा तेल स्रोत सर्भे’ को सम्झौता भएको थियो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सन् २०१६ मा सम्पन्न चीन भ्रमणको क्रममा नेपाल सरकार र चीन सरकार बीच भएको द्विपक्षीय सहमति अन्र्तगत दैलेखमा पेट्रोलियम अन्वेषण कार्य भइरहेको हो ।
पेट्रोलियम पदार्थको अध्ययन अनुसन्धान पछाडि भारतीय नाकाबन्दी प्रमुख कारकका रुपमा देखिएको छ । जनताको बालिदानीपूर्ण संघर्षबाट नेपालको संविधान २०७२ जारी भएको थियो । संविधान जारी भएपछि एकाएक भारतीय पक्षबाट नाकाबन्दी थालियो । नेपालमा पेट्रोलियम पदार्थको चरम अभाव देखियो । त्यही अभावले देशभित्रै सम्भावित पेट्रोलियम पदार्थको खोजीका क्रममा दैलेखमा अनुसन्धान सुरु भएको हो । सोही क्रममा तत्कालिन उद्योग मन्त्री सोमप्रसाद पाण्डेसहितको चिनियाँ विज्ञ टोली दैलेख आइपुगेको थियो । सो टोलीको प्रारम्भीक अनुसन्धानपछि दैलेखमा ग्यास उत्खनन् गर्न चीन सरकारसँग सम्झौता भएको थियो । २०७६ असार १६ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले दैलेखको नाभीस्थान पुगेर अन्वेषणको औपचारिक उद्घाटन गर्नुभएको थियो ।
आर्थिक समृद्धिको आधार
दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन् कार्य अगाडि बढेमा पेट्रोलियम पदार्थमा मुलुकको परनिर्भरता कम हुनेछ । दैलेख र आसपासका जिल्लाको आर्थिक समृद्धिमा समेत यसले महत्वपूर्ण टेवा पुर्याउने छ ।
दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलबहादुर विक पेट्रोलियम पदार्थ निकाल्न सकिएको अवस्थामा यसले मुलुकको मुहार फेरिने बताउनुहुन्छ ।
त्यस्तै, सांसद रवीन्द्रराज शर्माले विकास र समृद्धिको लक्ष्य पूरा गर्न दैलेखको पेट्रोलियम पदार्थको उत्खनन् कार्य कोसेढुंगा सावित हुने बताउनुहुन्छ । यसैगरी, दैलेखको नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्का पेट्रोलियम पदार्थ अनुसन्धान र उत्खनन् कार्यलाई सार्थक तुल्याउनुपर्नेमा जोड दिनुहुन्छ । दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारी पेट्रोलियम पदार्थ उत्खनन् गरिरहँदा पञ्चकोसी क्षेत्रको धार्मिक मूल्य र मान्यतालाई कायमै राखेर गरिनुपर्ने धारणा राख्नुहुन्छ ।
धार्मिक दृष्टिकोणले समेत पञ्चकोसी क्षेत्रको विशिष्ट महत्व छ । धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत सो क्षेत्र विकास हुने क्रममा छ । मुगुको रारा ताल घुमेर आउने अधिकांश पर्यटक दैलेखको पञ्चकोसी क्षेत्र पुगेर फर्कने गरेका छन् । यस कारण पनि यहाँको ग्यास उत्खनन् कार्यले पूर्णता पाएमा पर्यटन विकास र अर्थतन्त्रको विकासमा काँचुली नै फेरिने आस स्थानीयमा जगाएको छ ।
पेट्रोलियम पदार्थको अन्वेषण र धार्मिक महत्वको अखण्ड ज्वालाको संरक्षण गरिनुपर्ने माग स्थानीयको छ । यस क्षेत्रका ऐतिहासिक एवं पुरातात्त्विक वस्तुको संरक्षणमा सरकारको ध्यान जानुपर्ने स्थानीयको माग छ । नाभिस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नवीन योगी भन्नुहुन्छ, “अन्वेषणकै क्रममा धार्मिक महत्वको ज्वाला जोगाउने गरी योजना बनाउनुपर्छ ।”
म्याद थप्ने तयारी
कोरोना महामारीका कारण पछाडि धकेलिएको पेट्रोलियम पदार्थको अन्वेषण कार्यको सम्झौता म्याद थप्ने तयारी गरेको खानी तथा भुगर्भ विभागले जनाएको छ । नेपाल सरकार र चाइना सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सम्झौताको म्याद सन् २०२२ फेब्रुवरी २८ मा सकिदै छ । विभागले म्याद थपका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा फाइल पठाउने तयारी गरेको छ ।
भूगर्भविद डा. त्रिपाठीले म्याद थप गरेपछि अन्य काम अगाडि बढ्ने बताउनुहुन्छ । भूगर्भविद डा. त्रिपाठीका अनुसार कोरोनाका कारण काम नरोकिएको भए दोस्रो चरणको ड्रिलको काम सकेर प्रतिवेदन आइसक्ने थियो । कुनै विवादका कारण काम नरोकिएको स्पष्ट पार्दै ढिलोचाँडो परियोजनाको काम सम्पन्न हुने विश्वास उहाँको छ ।