अर्थ |

हुम्लाका होटल समस्यामा

हुम्ला समाचारदाता

हुम्ला, फागुन ८ गते । कोरोना महामारीलगायतका कारण पर्यटक आगमन घट्दा हुम्लाका होटल समस्यामा परेका छन् । यस जिल्लाको सदरमुकाममा सुविधा सम्पन्न होटल सञ्चालनमा भए पनि पर्यटक आगमन कम भएपछि समस्यामा परेका हुन् । यस जिल्लाका होटलमा लगानी गरेको २० करोड रुपियाँभन्दा बढी जोखिममा परेको छ ।

होटल मानसरोवरका सञ्चालक रिन्जिन लामाले पर्यटन प्रवद्र्धन र आम्दानीको स्रोत वृद्धि गर्न ठूलै लगानी गरेर स्थापना गरिएका होटल अहिले चल्नै नसक्ने अवस्थामा आएको बताउनुभयो । मौसमी रूपमा चल्ने यहाँका होटल पर्यटक आउने समयमै कोरोना महामारी फैलिएपछि बन्द गर्नुपर्ने अवस्था रहेको लामाले बताउनुभयो ।

होटल सङ्घ हुम्लाका अध्यक्ष मीनबहादुर लामाले स्थानीय युवाले होटलमा लगानी गरेको ठूलो रकम डुब्ने खतरामा परेको बताउनुभयो । उहाँले युवाले मानसरोवर कैलाश दर्शनका लागि २०७३ सालपछि भारतीय पर्यटक धेरै आउन थालेपछि होटलमा लगानी बढेको भए पनि दुई वर्ष लगातार सीमा बन्द भई यात्रु आउने क्रम रोकिएपछि होटल व्यवसायी मर्कामा परेको जानकारी दिनुभयो ।

हुम्ला सदरमुकाम सिमकोटमा मात्र पर्यटकीय होटल एक दर्जन रहेका छन् । सदरमुकाम सिमकोटसहित नेपाल र चीनको सिमाना हिल्सामा पनि पर्यटकीय होटल छन् । ती होटल पनि दुई वर्षदेखि बन्द हुँदै आएका छन् । कतिपय व्यवसायीले बैङ्कबाट कर्जा लिएरसमेत होटल निर्माण र व्यवसाय सञ्चालन गरेका कारण अहिले कर्जा तिर्न पनि नसक्ने अवस्थामा पुगेका छन् ।