सात सय वर्षदेखिको जुम्ली मार्सी
नेत्र शाही
तेह्रौँ शताब्दीमा जुम्ला तातोपानीको लाक्षु ज्यूलामा पहिलो पटक मार्सी धान रोपिएको इतिहासमा पाइन्छ । जुम्ला सदरमुकाम रहेको ठाउँमा तेह्रौँ शताब्दीमा ठूलो ताल थियो । मानसरोवरको दर्शन गर्न हिँडेका गुरु चन्दननाथ स्वामीले तलाउ फुटाई बस्ती बसाल्ने मनसाय राखे । घुम्दै जाँदा तातोपानी लाछु गाउँका एक जना वृद्धको घरमा पुगे । सोही घरका साहसी युवा लछालकृति पैकलाको सहायताले खलाचौरनिरको दहको सोतो खोलेपछि सिमचौर देखिन आएको हो । चन्दननाथले त्यसपछि काली मार्सी धान ल्याए । तिनै पैकलालाई खेतीसम्बन्धी ज्ञान पनि दिए । त्यसपछि तातोपानीको लाछु ज्यूलाको गुरूफोक्टोमा छरिएको भन्ने इतिहास रहेको छ ।
(कृषि अनुसन्धान केन्द्र विजयनगरले प्रकाशन गरेको पुस्तक, २०६७) तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार जुम्लामा पहिलो धान रोपिएको खेत ‘गुरूफोक्टो’मा एक सुपा धान हुने अहिले पनि खेत छ । त्यो खेतमा जहिले पनि एक सुपो धान हुन्छ । धेरै लामो समयदेखि लाक्षु ज्यूलाको मार्सी धान अहिले पनि चामल चन्दननाथ मन्दिरमा सिक दिने प्रचलन छ । लाक्षु ज्यूलाबाटै जुम्ला जिल्लासहित अन्य क्षेत्रमा मार्सी धान फैलिएको थियो ।
चन्दननाथ भैरवानाथ बाबाले जुम्ला आएपछि तातोपानीको लाक्षु ज्यूलाको गुरूफोक्टोमा मार्सी धानको बीउ रोपेको खसिया आखार जुम्लाका सम्पादक रमानन्द आचार्यको भनाइ छ । सयौँ वर्षदेखि जुम्लाको मार्सी धानले विशिष्ट पहिचान बनाएको अनुभव उहाँको छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार उच्च भागमा हुने रैथाने जात हो, काली मार्सी । यसलाई जुम्ली मार्सी पनि भनिन्छ । यो उच्च पहाडको हावापानीमा हुने स्थानीय जातको धान हो । यो एक हजार आठ सय मिटरभन्दा माथिको पहाडी भूभागमा फल्दछ । उहाँका अनुसार जुम्लासहित कर्णालीको यो उचाईमा मार्सी फल्ने गर्दछ । तीन हजार ५० मिटरको उचाईमा रहेको छुमचौरमा मार्सी धान उत्पादन हुन्छ । यो संसारकै अग्लो स्थानमा धान उत्पादन हुने ठाउँका रूपमा परिचित छ । त्यस्तै सिँजा उपत्यका, तिला हिमा नदीको छेउमा पनि मार्सी फल्ने गर्दछ । मार्सी धानको उद्गमस्थल र उत्पादन हुने मुख्य स्थल जुम्ला हो । त्यसैले यसको जीन दर्ताका लागिसमेत पहल भइरहेको कृषि कार्यालयले जनाएको छ ।
काली मार्सीको बीउ केलाउने काम चैत ८ गते हुन्छ । चैत १२ गते बीउ रुजाउने, १६ गते बीउ उतारेर न्यानो कोठमा राख्ने । त्यसपछि बीउ टुसाउँछ । चैत २० गते ब्याडमा छर्ने गरिन्छ । यो प्रचलन चन्दननाथ बाबाकै पालादेखि चल्दै आएको बताइन्छ । त्यसैले जुम्ला क्षेत्रमा एउटा उक्ति नै छ, ‘चैत्र १२ गते घर नआएको जुम्ली म¥यो भनी जान्नु (रत्नाकर २०२७) ।
मार्सीका विशेषता
मार्र्सी धान उत्पादन गर्न किसानलाई झन्डै आठ महिना लाग्छ । पौष्टिक तìवले भरिपूर्ण हुने भएकाले मार्सी चामल स्वास्थ्यका लागि निकै उपयोगी छ । मार्सी चामलमा फाइबरको मात्रा बढी हुने भएकाले शरीरमा चिनी र रक्तचापलाई नियन्त्रण गर्छ । मधुमेह र उच्च रक्तचापका बिरामीका लागि मार्सी खाँदा एकदमै प्रभावकारी हुन्छ । त्यस्तै मार्सीमा अन्य चामलभन्दा बढी आइरन, स्टार्च र सेलेनियमको मात्रा हुन्छ । त्यस्तै अरूको तुलनामा लस्सेदार र स्वादिष्ट पनि हुन्छ । यसैगरी मार्सी चामलको रङ रातो हुन्छ । पकाउँदा वास्ना आउने र मिठासपन बढी हुन्छ ।
बीउ राख्न दिनबार
जुम्लाका गाउँमा जुम्ली मार्सीको बीउ राख्दा निश्चित दिनबार नै तोकिएको हुन्छ, जुन अहिलेसम्मको प्रचलनमा छ । हरेक बर्ष चैत १२ गते बीउ पानीमा भिजाउने, १६ गते निकालेर टुसा उमार्नका लागि तातो गरेर ढाकेर राख्ने चलन रहेको छ । यसरी टुसा उमारेको बीउ चैत २० गते बेर्नामा छर्ने चलन रहेको छ । सोही दिन मार्सी छरिएकै कारण विसुवा पर्व पनि यहाँ मनाइने गरिन्छ । मार्सी धान जेठ महिनामा रोपेर कात्तिकमा काटिन्छ । मार्सीका विकल्पमा बढी उत्पादन हुन सक्ने भन्दै कृषि अनुसन्धान केन्द्र जुम्लाले चन्दननाथ १ र ३ धान पनि सुरु गरेको छ । जसको स्वाद मार्सी धानकै जस्तो हुने वैज्ञानिकले बताउँदै आएका छन् ।
जोगाउन चुनौती
नेपालको पहिलो प्राङ्गारिक जिल्लाका रूपमा जुम्लालाई घोषणा गरिएको छ । यहाँ उत्पादन हुने सबै कृषिउपज र खाद्यान्नमा विषादी प्रयोग गर्न पाइँदैन । यद्यपि प्राङ्गारिक उत्पादनका लागि आवश्यक तयारी नभएको स्थितिमा प्राङ्गारिक कृषि उत्पादन चुनौतीपूर्ण बनेको छ ।
विक्रम संवत् २०६४ मा जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा गरिएको हो । मार्सी धानमा अत्यधिक विषादी प्रयोगले अस्तित्व सङ्कटमा पुगेपछि जुम्लालाई प्राङ्गारिक जिल्ला बनाउने उद्देश्यसहित अभियान थालिएको हो । जुम्लामा ‘ब्लास्ट’ रोगले धान नोक्सान गरेको थियो । अर्कोतिर धान खेतीको झारपात र कीरा नियन्त्रण भन्दै ‘व्युटाकुलर’ विषादी प्रयोग गरिएपछि धान उत्पादनमा ह्रास आएको थियो ।
जु्म्लालाई प्राङ्गारिक जिल्ला घोषणा गरिए पनि जैविक मलको उपलब्धता हुन सकेको छैन । त्यसका लागि पूर्वाधारसमेत तयार हुन सकेको छैन । अझै पनि किसानले लुकिछिपी विषादी प्रयोग गर्ने गरेकोसमेत बताइन्छ । रासायनिक विषादीको विकल्पमा जैविक विषादी, जैविक मल किसानलाई उपलब्ध गराउन आवश्यक हुने कृषि कार्यालयले जनाएको छ । अन्य विकासे धानको भन्दा उत्पादनमा कमी हुने भएकाले मार्सीप्रति किसान आकर्षित छैनन् । यद्यपि मार्सीको बजार मूल्य अन्य धानभन्दा बढी हुने भएकाले किसानलाई सहयोग र प्रोत्साहित गर्नुपर्ने विज्ञहरूको भनाइ छ ।
किसानलाई उच्च पहाडी नदीमा आउने बाढीले समेत दुःख दिने गरेको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार २०७८ साल कात्तिक १ गतेको वर्षापछिको बाढीले उत्पादनको २० प्रतिशत धानमा क्षति भएको अनुमान छ । कार्यालयले जिल्ला विपत् व्यवस्थापन समितिमा पेस गरेको प्रतिवेदनमा तिला गाउँपालिकामा १३ हेक्टर जमिन, १४१ मेट्रिक टन धान तथा तातोपानीमा २२९ मेट्रिक टन मार्सी धान क्षति भएको छ । यसैगरी जिल्लाभर एक हजार ४५० हेक्टर काटेर खेतमा सुकाएका मार्सी धानमा क्षति पु¥याएको थियो ।
संरक्षणमा चासो
मार्सी धान उत्पादन तथा संरक्षणका लागि हरेक क्षेत्रमा चासो जागेको छ । चन्दननाथ भैरवनाथ मन्दिरको जग्गा सेराडावमा धुमधामसाथ भर्खरै रोपाइँ उत्सव मनाइएको छ । सरकारी स्तरमै यस्ता रोपाइँ गरिन्छ । रोपाइँमा स्थानीय बाजागाजासहित जनप्रतिनिधि, कर्मचारी, पत्रकार सहभागी हुन्छन् । यस्तो रोपाइँमा पर्यटक लैजान पहल गर्ने हो भने रोपाइँ उत्सवले पनि पर्यटकीय आकर्षण दिन सक्नेछ ।
पातारासी गाउँपालिकाको छुमचौर ज्यूलामा मार्सी रोपाइँ महोत्सव हुने गरेको छ । गाउँपालिकाले गरेको रोपाइँले फेरि मार्सी रोपाइँ सुरु भएको छ । गाउँपालिकाले सो क्षेत्रमा मार्सी धानको संरक्षण गर्न गुरुयोजनासमेत बनाएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापा बताउनुहुन्छ ।
मार्सी चामलको माग बजारमा बढेपछि किसान पनि उत्साहित भएका छन् । स्थानीय सरकार पनि मार्सीको संरक्षण तथा उपादनको नीतिगत सुनिश्चितता गर्न लागेका छन् । कर्णालीको मार्सी चामलको माग काठमाडौँलगायत देशका विभिन्न बजारमा हुन थालेपछि जुम्ली किसानसमेत मार्सीको उत्पादन कसरी बढाउने भन्ने बिषयमा चासो राख्न थालेका छन् ।
जुम्ला जिल्लाभरि नै अहिले धमाधम रोपाइँ भइरहेको छ । जुम्लामा जेठको अन्तिमदेखि असारको पहिलो सातामा रोपाइँ सकिने गर्दछ । असार दोस्रो सातादेखि साउन महिनाभरि गोडमेल गरिन्छ । मार्सीले बजारमा चर्चा पाएपछि भने किसानले निकै महìवसाथ मार्सी रोप्न थालेका हुुन् । धेरैजसो स्थानमा स्थानीय सरकारले रोपाइँको आयोजना गरेर किसानलाई हौसला प्रदान गरेको छ ।
गुरुफोक्टोमा रोपाइँ महोत्सव
तातोपानीको लाक्षु ज्यूलाको गुरुफोक्टोमा तातोपानी गाउँपालिकाले हरेक वर्ष जेठ ३० मा मार्सी महत्सवका रूपमा मनाउन सुरु गरेको छ । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार मार्सी संरक्षणमा अपनत्व लिने गरी २०७६ जेठ ३० गतेदेखि रोपाइँ कार्यक्रम आयोजना गरिँदै आएको छ । गाउँपालिकाले सो दिन स्थानीयस्तरमा बिदासमेत दिने व्यवस्था गरेको छ ।
यसैगरी नेपाली भाषाको उद्गमस्थल सिँजामा पनि मार्सी धान प्रसस्तै उत्पादन हुने गर्छ । त्यहाँ उत्पादन हुने मार्सी धान विशेषगरी रातीमार्सी हो । यो मार्सीको चामल निकै रातो हुने गर्दछ । साबिकको ११ गाविस हिमा नदीको छेउछाउका गाउँमा मार्सी धान अत्यधिक मात्रामा उत्पादन हुने गर्दछ ।
मार्सीको सट्टा चन्दननाथ
मार्सी धान लोप हुने डरले कृषि अनुसन्धान केन्द्र जुम्लाले विकल्पमा चन्दननाथ १ र ३ समेत बीउ उत्पादन सुरु गरेको छ । पछिल्लो समयमा जुम्लाका खेतमा चन्दननाथ १ र ३ समेत पर्याप्त मात्रामा रोपिन्छ । जिल्ला कृषि विकास कार्यालयको एक तथ्याङ्कअनुसार बर्सेनि दुई हजार नौ सय हेक्टर जमिनमा धान रोपिन्छ । करिब नौ हजार ९० मेट्रिक टन धान वर्सेनि उत्पादन हुने गरेको छ ।
मार्सी ब्रान्ड
जुम्ली किसानले उत्पादन गरेको मार्सीको माग ऊ बेला पनि थियो । तत्कालीन राजारजौटालाई हुलाकबाटै मार्सी पठाइने गरिएको बूढापाकाको भनाइ छ । पछिल्लो समय मार्सी चामलको प्याकिङ गरेर बिक्री वितरण बढ्दो छ । जिल्लामै सहकारी तथा थोक बिक्रेता पसलमा मार्सी चामल बिक्री हुन्छ । नेपालका पाँचतारे होटलमा मार्सी चामलको माग बढ्दो छ । जुम्ला आउने पर्यटकले मार्सी नै खोज्छन् । मार्सी चामलको मूल्य जुम्लामा प्रतिकेजी १७० रुपियाँ रहेको छ । काठमाडौँमा २५० देखि ३०० रुपियाँमा बिक्री हुने गरेको छ । à