अर्थ | समाज |

प्राङ्गारिक मल प्रयोग गर्न प्रेरित गर्दै किसान रामपुकार


विजयकुमार साह
ढल्केबर, फागनु ९ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ बरमझियाका ५० वर्षीय रामपुकार यादवले रासायनिक मल र कुनै किीटनाशक औषधीको प्रयोगबिना नै उन्नत आलु उब्जाउनुभएको छ । उहाँले रासायनिक मल र कीटनाशक औषधीको प्रयोगै नगरी छ कठ्ठा जमिनमा गरेकोे उन्नत आलुखेतीको बारेमा यतिखेर गाउँमा चर्चाको विषय बनेको छ ।

रामपुकारको आलुबारी अहिले पनि हरियो छ । दाना पनि ठूल्ठूला लागेका छन् । रासायनिक मलको प्रयोगबिना टुसा नपलाउने खेतमा यस्तो लहलहाउँदो आलुबारी देखेर वरपर गाउँका किसान छक्क परेका छन् । वरपर गाउँका किसान रामपुकार कहाँ जिज्ञासा लिएर पुग्ने गरेका छन् । यति मात्र हैन उहाँको यो आलुबारी हेर्न र यसबारे जिज्ञासा राख्न दुई–चार जना किसान दिनहुँ घरसम्म आइपुग्ने गरेका छन् ।

विगत दुई वर्षदेखि आफैले गँड्यौला मल उत्पादन गरेर खेतबारीमा प्रयोग गरेपछिको प्रतिफल भएको रहस्य खोल्दै भेट्न आउने किसानलाई पनि बढीभन्दा बढी प्राङ्गारिक मलको प्रयोग गर्न सुझाव रामपुकार दिनुहुन्छ । उहाँ भेट्न आउने किसानलाई कोसेलीस्वरुप प्राङ्गारिक मल दिएर पठाउनुहुन्छ । केही महिना अघिसम्म रामपुकारको काम देखेर गाउँमा प्रायः जसोले खेदो खन्थे ।

पछिल्लो समय किसानहरु रासायनिक मलमा निर्भर भएको बेला रामपुकारले उत्पादन गरेको गँड्यौला मलमाथि गाउँका किसानलाई विश्वास नहुनु कुनै अनौठो विषय थिएन । तर अहिले त्यसको ठिक उल्टो भएको छ ।

रामपुकार गाउँका किसानको मन जित्न थाल्नुभएको छ । त्यस भेगमा अहिले गँड्यौला मलप्रति किसानको आकर्षण बढ्न थालेको छ । उहाँले अहिले आठवटा खाडल विस्तार गरेर गँड्यौला मल उत्पादन गरिरहनुभएको छ ।

दुई वर्षअघि धनुषाको वीरेन्द्रबजारमा यूएनडिपीको आर्थिक सहयोगमा जनकपुरधामस्थित एक गैर सरकारी संस्था सामुदायिक सुधार केन्द्र (सिआइसी)ले गँड्यौला मल बनाउने तरिका र विधिसम्बन्धी तालिमको आयोजना गरेको थियो । त्यसै तालिमबाट आफूले गँड्यौला मल बनाउने तरिकाबारे सिकेको रामपुकार बताउनुहुन्छ । उहाँका अनुसार तालिमका आयोजक संस्थाले मल उत्पादन गर्न प्रत्येक सहभागीलाई सात किलोको दरले गँड्यौला निःशुल्करुपमा उपलब्ध गराएको थियो ।

दुई बिघा जग्गामा खेती गर्दै आएका उहाँले सुरुमा आफ्नै खेतबारीमा प्रयोग गर्न प्राङ्गारिक मलको उत्पादन सुरु गर्नुभएको थियो । प्राङ्गारिक मलको प्रयोगले उत्पादनमा व्यापक फरक देखिएपछि व्यावसायिक रुपले यसको उत्पादन गर्ने मनसाय बनाएको उहाँ सुनाउनुहुन्छ ।

उहाँले आलुबालीमा कुनै पनि रासायनिक मल प्रयोग गर्नुभएको छैन । गँड्यौला मलको प्रयोग मात्र गर्नुभएको छ । बिरुवा अहिले पनि हरियो छ । रासायनिक मल प्रयोग गरेको अर्काको आलुखेती देखाउँदै रामपुकारले भन्नुभयो, ‘त्यस खेतको आलुको बिरुवा हेर्नुस्, सबै सुक्न थाल्यो । पातहरु पहेँला भइसके ।’

आफ्नो खेतीको उत्पादन देखेर गाउँका अन्य किसानले गँड्यौला मलको महत्व बुझ्दै गएको उहाँको भनाइ छ । ‘सुरुको दिनमा यो मलप्रति कसैलाई विश्वास थिएन । उत्पादित मल बिक्री गर्न समस्या थियो । तर अब यसको महत्व धेरैलाई थाहा भइसक्यो । अहिले गाउँका मात्र नभएर टाढा–टाढाका किसान मल लिन यहाँ आउने गरेका छन्,’ खुशी हुँदै यादवले भन्नुभयो ।

छिट्टै आफ्नै नाउँमा एउटा कम्पनी दर्ता गराएर गँड्यौला मल बिक्री केन्द्र सञ्चालन गर्ने योजना रहेको यादवले सुनाउनुभयो ।
माटोको प्राकृतिक गुण कायम राख्नुका साथै माटोको मलिलोपना बढाउन गँड्यौला मल एकदमै उपयोगी भएको कृषि प्राविधिक (जेटिए) नरेशचन्द्र बरबरियाले बताउनुभयो ।
गाउँघरमा गाई भैँसीको गोबर तथा पातपतिङ्गर प्रशस्त पाउने र मल बनाउन सजिलो हुने हुँदा गणेशमान चारनाथ नगरपालिकाका २५ जना किसानलाई दुई वर्षअघि गँड्यौला मल बनाउने तालिम दिइएकोे सामुदायिक सुधार केन्द्र(सिआइसी)का अध्यक्ष सञ्जय साहले जानकारी दिनुभयो ।

गँड्यौला मल रासायनिक मलभन्दा राम्रो र स्वास्थ्यमा कुनै पनि हानि नगर्ने र यसको प्रयोगले माटोलाई केही पनि नोक्सान नगरी माटोको उर्वराशक्ति बढाउने भएकाले उत्पादनमा जोड दिन तालिम तथा प्राविधिक सहयोग गरेर किसानमा जागरुकता पैदा गर्ने प्रयासमा लागेको उहाँले बताउनुभयो ।