अर्थ |

बिदा मनाउन आएका घरेलु श्रमिक महिला पुनः रोजगारीमा फर्किन पाउने

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन ११ गते । घरेलु श्रमिकका रूपमा विभिन्न देशमा रहेका नेपाली महिलाहरू रोजगारी गुम्ने डरले आफ्ना परिवार भेट्न पनि आउँदैनथे तर अब त्यो समस्या हट्ने भएको छ । सरकारले घरेलु श्रमिक महिला स्वेदश आएर पुनः फर्कन सकिने श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरेको हो । मलेसिया र खाडीका छ देशमा नेपाली महिलालाई घरेलु श्रमिकका रूपमा जान प्रतिबन्ध लगाइएका कारण झन्डै सात वर्षदेखि ती देशमा काम गरिरहेका महिलाले रोजगारी गुम्ने डरका कारण बिदामा घर आउन चाहिरहेका थिएनन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा घरेलु श्रमिक पठाउने निर्देशिकाको आधारमा अप्ठ्यारोमा परेका महिलालाई पुनः श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गर्नुभएको हो । निर्देशिका २०७२ को दफा २३ मा सो व्यवस्था गरिएको छ ।

प्रतिबन्ध नलाग्दै खाडी पुगेका तथा पछि अवैध बाटोबाट गएका घरेलु श्रमिक महिलाहरू रोजगारदाताको व्यवहार र कमाइ राम्रो भए पनि नेपाल फर्केपछि श्रम स्वीकृति नपाउने भएकाले फर्किन सकेका थिएनन् ।
पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी बिदामा स्वदेश आई फर्कने वा पहिलेकै रोजगारदातासँग सम्झौता नवीकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी सर्त पूरा गरेर पुनः श्रम स्वीकृति दिने, सम्बन्धित देशको दूतावास र वैदेशिक रोजगार कार्यालयले उहाँहरूको छुट्टै अभिलेख राख्ने व्यवस्था गरेको छ ।


मलेसिया र खाडी देशमा महिला श्रमिक पठाउन प्रतिबन्ध लगायत महिला अनौपचारिक बाटो प्रयोग गरी विदेशिने गरेका छन् । यसरी अवैध रूपमा गएका महिलाको कुनै अभिलेख हुँदैन । मन्त्री श्रेष्ठले प्रतिबन्धका कारण महिला सुरक्षित हुनेभन्दा थप जोखिममा परेकाले नियन्त्रण गर्न सरकारले यस्तो निर्णय गरेको बताउनुभयो ।


२० चैत २०७३ मा व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु श्रमिक बनेर जाने नेपाली महिला शोषित भएको भन्दै अर्को सम्झौता नभएसम्म ती देशमा पठाउन पूर्णरूपमा प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो । नेपाली महिलाका लागि कुवेत, बहराइन, संयुक्त अरब इमिरेट्स (यूएई) कतार, ओमन, लेवनानलगायत देशमा घरेलु श्रमिकका रूपमा गएका छन् ।

यसअघि २०६९ सालमा ३० वर्षभन्दा कम उमेरका महिलालाई खाडीमा जान रोक लगाउने निर्णय भएको थियो । २०७२ मा जारी निर्देशिकाले उमेर हदलाई २४ वर्षमा झारेर विभिन्न सर्त राखेको थियो । अहिले छुट्टै श्रम सम्झौता गरे ४२ देशमा घरेलु श्रमिक जान दिन सकिने व्यवस्था छ ।

घरेलु श्रमिक आपूर्ति बारे श्रम सम्झौता भने अहिलेसम्म जोर्डनसँग मात्र भएको छ । घरेलु श्रमिकका रूपमा काम गरिरहेकालाई नेपाली दूतावासको पत्रका आधारमा पुनः श्रमस्वीकृति दिने व्यवस्था गरेको सरकारले पछिल्लो पटक इजरायलमा पनि दक्ष श्रमिक केयरगिभरमा श्रमिक पठाउन थालेको छ । संसदीय समितिले २०७७ असोज १३ गते सरकारलाई नेपालबाट घरेलु श्रमिक लैजान चाहने देशमा घरेलु श्रमिकको सेवा, सर्त र सुविधा सम्बन्धमा छुट्टै र ठोस कानुनी व्यवस्था हुनुपर्ने सहितका सातबुँदे निर्देशन दिएको थियो ।

एक महिलाको उद्धार
यसैबीच दुई महिनादेखि भारतको नयाँ दिल्लीमा अलपत्र एक महिलाको उद्धार गरिएको छ । दलाललाई दुई लाख २० हजार रुपियाँ बुझाएर भारतको नयाँ दिल्ली हुँदै खाडी देश संयुक्त अरब इमिरेटस् (यूएई) जान हिँडेकी मोरङकी महिलाको दुई महिनापछि उद्धार गरिएको हो ।

उर्जेन लामा नाम गरेका व्यक्तिले वैदेशिक रोजगारीको प्रलोभनमा भारतको नयाँ दिल्ली पु-याइएको र त्यहाँबाट पर्यटन भिसामा यूएई लैजाने बताए पनि झन्डै दुई महिनासम्म अलपत्र पारेपछि उहाँले उद्धारका लागि श्रममन्त्रीको सचिवालयमा रहेको गुनासो सेन्टरमा जानकारी गराउनुभएको थियो । लामो समय बन्धकजस्तै भएको र उपचारसमेत नपाएको गुनासोपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा उद्धार गरिएको मन्त्रालयले जनाएको छ । उर्जेन लामाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।