विद्युत् प्राधिकरणले पायो ‘डबल ए प्लस’
गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १६ गते । सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपाल लि. ले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’स्तरको रेटिङ प्रदान गरेको हो ।
डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्न सक्ने उच्च क्षमता रहेको भन्ने बुझिन्छ । यसले संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ ।
इक्रा नेपालले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमहरूको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तìवहरूलगायतको विश्लेषण गरेको थियो ।
सोही विश्लेषणका आधारमा प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्वजनिक निकायमध्ये प्राधिकरणले डबल ए प्लस क्रेटिड रेटिङ पाएकाले वित्तीय दायित्व बहन गर्न सक्ने उच्चतहको सुरक्षित क्षमता देखिएको बताउनुभयो ।
“यो क्रेटिड रेटिङले प्राधिकरणसँगको कारोबार सबै हिसाबले सुरक्षित रहेको देखाएकाले अब ऋण दिने निकायसँग प्राधिकरणले आफ्नो संस्थागत जमानीमा सिधै ऋण खोज्न र लिन सक्छ,” कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । प्राधिकरणले अहिले विश्व बैङ्क, एसियाली विकास बैङ्कजस्ता बहुपक्षीय विकास साझेदार निकायबाट सरकारी जमानीमा ऋण लिँदै आएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा नयाँ आयोजना कार्यान्वयन गर्दा प्राधिकरणले कर्पोरेट जमानीमा स्रोत परिचालन गर्ने क्षमता विकास गरिने घोषणा गरिएको थियो ।