युक्रेन र रुस तनाव : नेपालमा कच्चापदार्थ आयातमा समस्या
नवराज कट्टेल
विराटनगर, फागुन १७ गते । विराटनगरका उद्योगीले घिउ र तेल उद्योगका लागि कच्चापदार्थ अभाव हुनसक्ने औँल्याएका छन् । युक्रेन र रुसबाट कच्चापदार्थ आयात गर्न समस्या हुन थालेको भन्दै त्यसको असर नेपालका घिउ र तेल उद्योगमा पर्ने उनीहरूले बताएका हुन् ।
नेपालमा सूर्यमुखीको कच्चा तेल युक्रेन र रुसबाट पैठारी हुँदै आएको छ । यहाँका उद्योगलाई आवश्यक पर्ने ८० प्रतिशत कच्चापदार्थ यी दुई देशबाट आयात भइरहेको जानकारी दिँदै उद्योगीहरूले दुई देश बीचको तनावपछि कच्चापदार्थ आपूर्तिमा समस्या हुने आशङ्का व्यक्त गरेका हुन् । गत बिहीबारदेखि रुस र युक्रेनबीच युद्ध भइरहेका कारण भटमास र सूर्यमुखी तेलको कच्चापदार्थ आयातमा समस्या भएको हो ।
युद्धका कारण यी दुवै मुलुकका बन्दरगाह बन्द हुन थालेकाले सामान ओसारपसार रोकिएको उद्योग सङ्गठन मोरङका कोषाध्यक्ष एवं क्वालिटी आयल रिफाइनरीका सञ्चालक विपिन काबराले जानकारी दिनुभयो । आयातमा सहुलियत हुने भएकाले नेपाली उद्योगीहरूले युक्रेन र रुसबाटै सूर्यमुखी र भटमासको कच्चापदार्थ ल्याउने गरेका थिए ।
बैङ्कहरूले युक्रेनबाट सामान आयात गर्न प्रतीतपत्र (एलसी) खोल्न बन्द गरेको काबराले बताउनुभयो । रुसका लागि स्विफ्ट सिस्टमबाट भुक्तानी गरेर सामान मगाउन असजिलो भएकाले कच्चापदार्थ आयात प्रभावित हुने अनुमान उद्योगीहरूले गरेका हुन् । नेपालमा मात्रै नभएर भारतमा समेत कच्चापदार्थ अभाव हुन थालेको बताइएको छ । पशुपति खाद्यतेल उद्योगका सञ्चालक अमित सारडाले दुवै देशबाट लोडिङ र सिपमेन्ट बन्द भएको जानकारी दिनुभयो । दस दिनयता युक्रेन र रुसका बन्दरगाहामा मालसामान भरिएका पानीजहाज रोकिँदा नेपाली आयातकर्ताले ड्यामरेज र डिटेन्सन शुल्क बुझाउनुपरेको व्यवसायीले बताएका छन् ।
सारडाले युक्रेन र रुसबाहेक सूर्यमुखी र भटमासको कच्चा तेलका लागि पारग्वे र टर्कीबाट आयात गर्ने प्रक्रिया अगाडि बढाइने बताउनुभयो । तर सूर्यमुखी र भटमासको मुख्य उत्पादक मुलुकमै युद्ध चलिरहँदा अन्य देशमा पनि मूल्य बढेको छ । पछिल्लो दस दिनमा सूर्यमुखी र भटमासको कच्चा तेलको मूल्य टनको १५० अमेरिकी डलरले वृद्धि भएको उद्योगी सारडाले बताउनुभयो ।