देशमा मध्यमवर्गीय व्यवसायीकाे सङ्ख्या ठूलो छ : अध्यक्ष प्रचण्ड
काठमाडौं, फागुन २५ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा अहिले मध्यमवर्गीय व्यवसायीको विकास भएको बताउनुभएको छ ।
बुधबार नेपाल उद्योग व्यवसायी महासङ्घ केन्द्रीय तदर्थ समितिको पूर्ण बैठकमा अध्यक्ष दाहालले व्यवसायको क्षेत्रमा एक–दुई दशक अगाडिको तुलनामा अहिले ठूलो मात्रामा मध्यमवर्गीय व्यवसायीको विकास भएको बताउनुभएको हो ।
उहाँका अनुसार सङ्ख्यात्मक तुलनामा हेर्ने हो भने, मध्यमवर्गीय व्यवसायीको सङ्ख्या ठूलो छ र उनीहरुको सङ्गठिग, संस्थागत, नीतिगत र वैचारिक स्पष्टतासहित आन्दोलित हुने हो भने ठूला व्यवसायीहरुले गर्ने विकृति, विसङ्गतिलाई नियन्त्रण गर्न सक्छन् ।
सार्वजनिक, निजी र सहकारीको साझेदारीमा नयाँखालको आर्थिक मोडलको विकास गर्न प्रतिबद्ध रहेको बताउनुभयो । ‘हामी समाजवादउन्मुख मान्यताका पनि पक्षपाती हौं । सार्वजनिक निजी र सहकारीको साझेदारीमा नयाँखालको आर्थिक मोडेलको विकास गर्न पनि प्रतिबद्ध छौं,’ उहाँले भन्नुभयो ।