अर्थ |

भारतीयलाई निम्ता बाँड्दै व्यवसायी

नवराज कट्टेल

विराटनगर, फागुन २७ गते । कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै भारतीय पर्यटकलाई नेपाल घुम्न आउने निम्ता लिएर पूर्वका व्यवसायी भारतका विभिन्न राज्यमा पुगेका छन् । प्रदेश १ का पर्यटन व्यवसायी अहिले भारतको सिक्किम, पश्चिम बङ्गाल र विहारका पर्यटन व्यवसायीसँग भेटघाट गर्न निस्किएका हुन् । व्यवसायी नेपालको सीमा नजिक रहेका भारतीय सहर पश्चिम बङ्गालको सिलिगुडी, किसनगञ्ज र विहारको पूर्णिया, फरबिसगञ्ज, कटिहार र दरभङ्गा पुगेका हुन् ।
पर्यटन व्यवसायी भवेश श्रेष्ठका अनुसार नेपालमा घुम्न आउन चाहने भारतीय पर्यटकलाई गन्तव्य र यहाँको स्थिति जानकारी गराउने उद्देश्यले यी सहरमा भारतीय पर्यटन व्यवसायीसँग भेटघाट गरिरहेका छन् । “भारतका सिक्किम, पश्चिम बङ्गाल र विहारसँग भौगोलिक र संस्कृति निकटताको नातासमेत रहेका कारण नेपाली पर्यटन व्यवसायीलाई त्यहाँ पुग्न र कुरा राख्न सहज हुने गरेको छ,” श्रेष्ठले भन्नुभयो ।

पूर्वका पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत ११ देखि १३ गतेसम्म धरानमा इस्ट टुरिजम मार्ट आयोजना गरिने भएको छ । टुरिजम मार्टमा देशभरका पर्यटकीय गन्तव्यको चिनारी गराउने किसिमका सामग्री, नेपालमा घुम्न आउने पर्यटकका लागि टुर प्याकेज योजना, धार्मिक, सांस्कृतिक र प्राकृतिक क्षेत्रको जानकारी गराइने भएको छ । यो टुरिजम मार्टमा भारतबाट १५० जना व्यवसायीलाई भित्र्याउने र नेपालभरका पर्यटन व्यवसायीसँग अन्तत्र्रिmया गराउने लक्ष्य रहेको व्यवसायी श्रेष्ठले बताउनुभयो ।
कोरोना महामारीअघि प्रदेश १ का झापा, मोरङ र सुनसरीबाट प्रवेश गरेका पर्यटक एक रात यहाँ बसेर पहाडी क्षेत्रका पर्यटकीय क्षेत्रमा घुम्न जाने गर्थे तर पछिल्लो समय सीमा नाका बन्द भएपछि पुनः घुम्न आउने पर्यटकको सङ्ख्या घट्दै गएको छ । प्रदेश १ भित्रको झापा, मोरङ र सुनसरी जिल्ला समेट्ने पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग कोरिडोर, झापा (चारआली)–ताप्लेजुङ मेची कोरिडोर, विराटनगर–सङ्खुवासभा कोसी कोरिडोर र उदयपुर–पाताले (ओखलढुङ्गा र सोलुको मध्यभाग) सगरमाथा कोरिडोरको तराई र पहाडी क्षेत्रका अनेकौँ गन्तव्यबारे भारतका पर्यटन व्यवसायीसँग छलफल गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाल घुम्न आउने पर्यटकमध्ये ५.१५ प्रतिशत प्रदेश १ का पर्यटकीय स्थलमा पुग्ने गरेका छन् । यो सङ्ख्या कोरोना महामारीअघि वार्षिक ४८ हजारजति थियो । यसरी प्रदेश १ मा पुग्ने विदेशी पर्यटकमध्ये ९३ प्रतिशत खुम्बु क्षेत्रमा, ६ प्रतिशत मकालु वरुण राष्ट्रिय निकुञ्ज र कञ्चनजङ्घा संरक्षण क्षेत्रमा र १ प्रतिशतभन्दा कम कोसीटप्पु वन्यजन्तु आरक्षणमा जाने गरेका छन् तर यी पर्यटकको लाभ प्रदेश १ ले प्रत्यक्ष रूपमा लिन सक्दैन । भारतीय पर्यटक भिœयाउन सके त्यसको लाभ प्रत्यक्ष लिन सकिने भएकाले पूर्वका पर्यटन व्यवसायी भारतीय पर्यटकमा केन्द्रित भएका हुन् ।

प्रदेशको काँकडभिट्टा नाका हुँदै वार्षिक दुई लाख १९ हजार ५७१ भारतीय पर्यटक नेपाल प्रवेश गर्छन् ।प्रदेश राजधानी विराटनगरसहित धरान, इटहरी, दमक, बिर्तामोडजस्ता प्रमुख सहर र यी सहरमा पर्यटकीयस्तरका ठूला होटल प्रशस्त छन् । प्रदेशभर २०० स्तरीय, एक हजार मध्यम तर गुणस्तरीय सेवा प्रदान गर्ने होटल र १०० ब्रान्डेड रेस्टुराँ छन् । तीमध्ये पनि धेरै महेन्द्र राजमार्ग कोरिडोरमा छन् । कोरिडोरका होटलले मात्रै दैनिक पाँच हजार पर्यटकलाई स्तरीय सेवा दिन सक्ने क्षमता छ ।