ऐतिहासिक इलाम चिया बगान : विश्व सम्पदा सूचीमा राख्न माग
कोकिला ढकाल
इलाम, फागुन २८ गते । नेपालमा चिया खेतीको इतिहास डेढ शताब्दी पुरानो छ । यो नेपालको मात्रै होइन, दक्षिण एसियाकै पुरानो पनि हो । यहाँको चिया बगान र कारखानालाई ऐतिहासिक सम्पदाकै रूपमा संरक्षण गर्नुपर्ने र विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्नुपर्ने माग हुँदै आएको छ तर सम्बद्ध निकाय र सरोकारवालाको ध्यान त्यसतर्फ गएको छैन ।
वि.सं. १९२० मा चिया रोपेर बनेको इलाम चिया बगानलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सकिने पर्याप्त आधार भएकाले त्यसको प्रयास गरिनुपर्ने स्थानीय र विज्ञहरूले माग गर्दै आएका छन् । दक्षिण एसियामै एक मात्र १५८ वर्ष पुरानो रहेको यो चिया बगानलाई सूचीकृत गराउन पहल गर्नुपर्ने खाँचो बारम्बार औँल्याइँदै आएको छ ।
नगरपालिकालाई दिन माग
नेपाल सरकारको स्वामित्वमा रहेको इलाम चिया बगान अहिले निजी क्षेत्रले सञ्चालन गरिरहेको छ । ऐतिहासिक महŒवको यो बगानको संरक्षण गर्नुपर्ने भएकाले आफूलाई दिन इलाम नगरपालिकाले आग्रह गरिरहेको छ । २०७४ सालमा स्थानीय निर्वाचनपछि लगत्तै नगर कार्यपालिकाको बैठकले निजीकरण फिर्ता गर्नुपर्ने प्रस्ताव पारित गरेको थियो र यसलाई कार्यान्वयन गर्न पटक–पटक माग गर्दै आएको छ । पछिल्लो पटक नगर कार्यपालिकाको दसौँ बैठकले पनि इलाम चिया बगान निजीकरण फिर्ता गरी संरक्षणका लागि स्थानीय सरकारलाई हस्तान्तरण गर्न अनुरोध गरेको छ ।
“नेपाली चियाको १५८ वर्षको इतिहास बोकेको इलाम चिया बगान फिर्ता गरेर यसलाई अनुसन्धान केन्द्र र सङ्ग्रहालय बनाउन हामीले माग गरिरहेका छौँ । वि.सं. १९३५ मा निर्माण भएको कारखानामा भएका महँगा र महŒवपूर्ण मेसिन, औजार अन्यत्र लगेर इतिहास मेटाउने काम भएको छ । यो बगानको इतिहास जोगाउन स्थानीय सरकार सक्षम छ । अहिले यो बगानलाई साँच्चै संरक्षण चाहिएको छ,” नगरप्रमुख महेश बस्नेतले भन्नुभयो ।
आधाभन्दा बढी मापदण्ड पूरा
सम्पदासम्बन्धी अध्ययन गरिरहनुभएका विधुप्रकाश कायस्थले इलाम चिया बगान नेपालकै ऐतिहासिक सम्पदा भएकाले विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्व सम्पदा सूचीमा सूचीकृत गर्न १० वटा मापदण्ड पूरा हुनुपर्छ । कतिपय सम्पदा तीन–चारवटा मापदण्ड पूरा हुँदा पनि सूचीकृत भएका छन्, इलाम चिया बगानको पनि पाँच–छवटा मापदण्ड पूरा हुन्छन् । ”
इलामका इतिहासकार युद्धप्रसाद वैद्यले संरक्षणको अभावमा पूर्वका धेरै सम्पदा लोप र नष्ट हुने अवस्थामा पुगेको बताउनुभयो । नेपालकै पुरानो चिया बगानदेखि विभिन्न धार्मिक एवं सांस्कृतिक सम्पदालाई सरकारले संरक्षण गर्न खासै चासो नदिएको वैद्यको भनाइ छ । “यहाँका सम्पदाका ऐतिहासिक, पुराताŒिवक महŒवका वस्तु नष्ट भएर गइसकेका छन्, अब त्यही सम्पदा मासिन्छ भन्ने चिन्ता छ, यस्तो अवस्थामा यी सम्पदालाई कसरी संरक्षण गर्ने भन्ने चासो यो नयाँ पुस्ताले गर्नु आवश्यक छ,” वैद्यले भन्नुभयो । महेन्द्ररत्न बहुमुखी क्याम्पस, इलामका प्राध्यापक राजेन्द्र बरालले ऐतिहासिक सम्पदा जोगाउन पुनर्जागरण अभियान चलाउन आवश्यक रहेको बताउनुभयो ।
भाडामा चिया बगान
नेपालकै सबैभन्दा पुरानो इलाम चिया बगान र इलाम चिया कारखानासहित सातवटा चिया बगान सरकारले त्रिवेणी सङ्घाई समूहलाई ५० वर्षका लागि भाडामा दिएको छ । २०५७ सालमा निजीकरण गरिएपछि इलाम चिया बगान खण्डहर जस्तै भएको छ । वि.सं. १९३५ मा निर्माण भएको चिया कारखानामा रहेका पुराना मेसिन औजार अहिले केही पनि नभएको इतिहासकार वैद्यले बताउनुभयो ।