अर्थ |

पोखराका व्यवसायी उत्साहित

सन्तोष सुवेदी

कास्की, फागुन २९ गते । कोरोना भाइरसका कारण सुनसान बनेको पोखराको पर्यटन अब भने चहलपहल देखिन थालेको छ । कोभिड–१९ को तेस्रो लहर कम हुनेबित्तिकै आन्तरिक र छिमेकी मुलुक भारतबाट पोखरा घुम्नका लागि पर्यटक आउनेको सङ्ख्या बढ्दै गएको व्यवसायी बताउँछन् ।

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकको आगमनले आशा पलाएको बताउनुभयो । उहाँले भन्नुभयो, “केही आशा जगाएको छ । अर्को भेरियन्ट आएन भने सुस्ताएको पर्यटन क्षेत्र पुनः पहिलेको अवस्थामा आउनेछ ।” अहिले पोखराका प्रायः होटल भरिभराउ छन् । आन्तरिकसँगै भारतीय पर्यटक पनि अहिले पोखरामा घुम्न आउन थालेका छन् । पर्यटक आउन छाडेपछि पोखराका २५ होटल सञ्चालकले यो व्यवसाय नै छाडेको उहाँले बताउनुभयो ।

“अब ट्रेकिङ सिजन पनि सुरु भयो । तेस्रो मुलुकदेखि आउने पर्यटक पहिलाको जसरी आउन अझै दुई वर्ष लाग्छ होला तर आन्तरिक पर्यटक कोभिडपछि धेरै आएका छन्,” सुवेदीले भन्नुभयो । ४२५ होटल सङ्घमा दर्ता छन् । पोखरा र आसपासमा गरी एक हजार २०० होटल छन्, जसमा ३५ हजार श-या छन् । लेकसाइड र ड्यामसाइड गरी ७०० होटल छन् ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका कोषाध्यक्ष राजेश पहारीले अब फेरि कुनै भेरियन्ट नआए पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढ्दै जाने आशा व्यक्त गर्नुभयो । “अहिले नेपाल आउँदा पीसीआर चेक नगरे पनि हुने व्यवस्था छ । बुस्टर डोज लगाएर कार्ड देखाएमा आउने व्यवस्था सरकारबाट भएको छ, यसले सहज बनाएको छ,” उहाँले भन्नुभयो ।

मार्च, अप्रिल र मे महिना भारतीय पाहुनाको घुम्न सिजन हो । त्यसैले अहिले पोखरामा भारतीय पर्यटकको बुकिङ राम्रो भएको व्यवसायी बताउँछन् । “भारतीय पाहुनाको आगमन र बुकिङले व्यवसायीलाई उत्साही बनाएको छ । अब व्यवसायले गति लिने सङ्केत छ,” उहाँले भन्नुभयोे । अप्रिल महिनामा मुक्तिनाथ जाने पर्यटकले गर्दा अकुपेन्सीमा पनि राम्रो हुने उहाँले बताउनुभयो ।

कोरोना सङ्क्रमण कारण मर्कामा परेका डुङ्गा व्यवसायीको पनि अहिले व्यस्तता बढेको छ । पोखराको वाराही घाटमा डुङ्गा खियाउने धनबहादुर विकले भन्नुभयो, “कोरोनाले गरिखान दिएन । अब त्यस्तो हुँदैन कि । अहिले त कमाइ पनि राम्रो हुँदै गएको छ । दैनिक तीन हजार रुपियाँजति कमाइ हुन्छ होला ।”