दुर्गमका विद्यार्थीलाई विद्युतीय चुलो
गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २९ गते । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले निःशुल्क वितरण गर्न लागेको विद्युतीय चुलोका लागि सात हजार ५५० आवेदन परेका छन् । देशका दुर्गम क्षेत्रबाट आई काठमाडौँका सरकारी तथा सामुदायिक क्याम्पसमा स्नातक तथा स्नातकोत्तर अध्ययनरत विद्यार्थीलाई यस्तो चुलो वितरण गर्न केन्द्रले फागुन ९ गतेदेखि आवेदन माग गरेको थियो । आवेदन दिने म्याद फागुन २५ गते सकिएको हो ।
आयातित एलपी ग्यासको खपत घटाउने र विद्युतीय चुलो प्रयोग गर्न सचेतना विस्तार गर्ने सरकारको सोचलाई कार्यान्वयन गर्न यस्तो कार्यक्रम ल्याएको केन्द्रले जनाएको छ । विद्युत् खपत विस्तार हुने, ग्यास आयात घटाउने र वातावरण संरक्षणसमेतमा योगदान पु-याउने भएकाले यस्तो प्रवर्धनात्मक कार्यक्रम ल्याएको केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले बताउनुभयो । “आएका आवदेन अध्ययन गरेर योग्य देखिएका सबैलाई वितरण गर्ने लक्ष्य छ । चालू आर्थिक वर्षभित्र योग्य आवेदकलाई विद्युतीय चुलो दिनेछौँ,” उहाँले भन्नुभयो ।
केन्द्रले यो कार्यक्रम सञ्चालनका लागि ‘स्वच्छ ऊर्जाको माध्यमबाट खाना पकाउने गुइँठा कृषिजन्य अवशेषको प्रतिस्थापन र ऊर्जा नपुगेको क्षेत्रमा स्वच्छ ऊर्जा पु-याउने कार्यक्रम’को बाँकी बजेटबाट विद्यार्थीलाई इन्डक्सन चुलो दिन लागेको हो । बाँकी रकमले करिब १० हजार विद्युतीय चुलो खरिद गर्न सकिने केन्द्रको अनुमान छ । केन्द्रले १० हजारसम्म विद्यार्थीहरूलाई विद्युतीय चुलो वितरण गर्ने लक्ष्य राखेको थियो । केन्द्रले यसका लागि इन्डक्सन चुलो खरिद भने गरिसकेको छैन ।