‘चुनौती समाधान गर्न आयातमा मार्जिन’
गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ३० गते । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताउनुभएको छ । भन्सार विभागको त्रिपुरेश्वरस्थित कार्यालयमा आइतबार आयोजित भन्सार व्यवस्थापन गोष्ठीमा उहाँले भन्नुभयो, “अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकाले केही वस्तुको आयातमा मार्जिन राखेका हौँ ।
” यो निर्णयले भन्सार शुल्क सङ्कलन प्रभावित हुने भए पनि यो सधैँका लागि नभएको उहाँले स्पष्ट पार्नुभयो । स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्ने उहाँले बताउनुभयो । उहाँले आयातमा गरिएको कडाइले भन्सार असुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्ने बताउनुभयो ।
भन्सार कार्यालयमा देखिएका समस्या समाधान गर्न, पछिल्ला नीतिबाट सिर्जित नयाँ चुनौतीको सामना गर्दै राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका निर्वाह गर्न गोष्ठी प्रभावकारी हुने उहाँँले बताउनुभयो । मन्त्री शर्माले वस्तु आयातमा गरिएको वर्गीकरणसम्बन्धी व्यवस्थाले व्यवसायीमा असन्तुष्टि देखिएकाले त्यसलाई पनि गोष्ठीका माध्यमबाटै समाधानको सूत्र पहिल्याउन पनि उहाँले निर्देशन दिनुभयो ।
भन्सार कार्यालयहरूमा प्रयोग हुने भेहिकल स्क्यानिङसम्बन्धी निर्देशिका बन्दै गरेको र चाँडै कार्यान्वयनमा आउने अर्थमन्त्री शर्माले जानकारी दिनुभयो । व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अगाडि बढ्न सबै कर्मचारीलाई उहाँको निर्देशन थियो । माघ मसान्तसम्मको लक्ष्यभन्दा बढी भन्सार राजस्व परिचालन गरेकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।
सो अवसरमा भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म तीन खर्ब पाँच अर्ब राजस्व सङ्कलनको लक्ष्य भए पनि तीन खर्ब आठ अर्ब रुपियाँ सङ्कलन भएको जानकारी दिनुभएको थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशतले बढी हो ।