अर्थ |

कोरिडोर जोडिएसँगै गाउँगाउँमा बजार

राजन राउत

हुम्ला, फागुन ३० गते । दक्षिणी हुम्लाका विभिन्न स्थानमा बजार विस्तार हुने क्रम तीव्र भएको छ । कर्णाली कोरिडोर निर्माण भएसँगै नियमित रूपमा यातायात सुचारु हुन थालेपछि नयाँनयाँ बजार÷व्यापारिक केन्द्र बनेका हुन् ।
यहाँको सर्केगाड र चङ्खेली गाउँपालिकाको सिमाना सलीसल्लामा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका गणेश शाहीले गत असारयता बजार विस्तार हुने क्रम बढेको बताउनुभयो ।

यसअघि उक्त स्थानमा पैदल यात्रुका लागि केही सीमित र साना होटल मात्र सञ्चालन हुँदै आएका थिए । उहाँले अहिले यो स्थानमा करिब डेढ सय व्यापारीले व्यवसाय सञ्चालन गरिरहेको जानकारी दिनुभयो । दक्षिणी हुम्लामा उपभोक्तालाई दैनिक उपभोग्य सामग्रीदेखि लत्ताकपडा र विकास निर्माणका सामग्रीसमेत यहाँबाट बिक्री हुन थालेको छ ।

सलीसल्लामा बजार विस्तार भएसँगै गाउँमा स्थापना भएका खुद्रा व्यापारीलाई भने सामान बिक्रीको समस्या हुन थालेको छ । पहिले खच्चडमा ढुवानी गरेर ल्याइएको सामानभन्दा ५० प्रतिशत मूल्य सस्तिएको उहाँले बताउनुभयो । पहिले तरकारीको समस्या हुने सलीसल्लामा गाडीबाट तरकारी आउन थालेपछि उपभोक्ताले तरकारी किनेर खान पाएका छन् ।

यो बजारमा बाजुरा, मुगु र हुम्लाका बासिन्दाले व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन् ।हुम्लाकै अदानचुली गाउँपालिका–१ को बालुकुनामा पनि नयाँ बजार विस्तार भएको छ । पहिले दुईवटा घर मात्र भएको यो ठाउँ अहिले भने व्यापारिक केन्द्र भएको छ । कर्णाली कोरिडोरसँग जोडिएको उक्त बजारबाट मुगु र तुम्च गाउँका स्थानीयवासीलाई सहज भएको छ ।

यसैगरी ताँजाकोट गाउँपालिका–४ को पैमा अर्को बजार विस्तार भएको क्षेत्र हो । पहिला पैदल यात्रुका लागि माटोले छापेका घरबाट होटल व्यवसाय गर्दै आएका सीमित व्यापारीले अहिले जस्तापाता छाएका नयाँ घर निर्माण गरेर व्यापार गर्दै आएका छन् । अहिले सो स्थानमा ८० भन्दा बढी व्यवसायीले व्यापार व्यवसाय गर्दै आएका छन् ।

बाजुरा र हुम्लाको सिमानामा पर्ने कवाडी अर्को नयाँ बजारको रूप लिएको क्षेत्र हो । सो स्थानमा २०० भन्दा बढी व्यापार व्यवसाय चलिरहेका छन् । पहिले होटल मात्र सञ्चालन हुँदै आएकामा अहिले खुद्रादेखि थोक पसलसमेत खुलेका छन् । यो स्थानमा बाजुरा र हुम्लाका व्यापारीले व्यापार गर्दै आएका छन् ।

स्थानीय जगत शाहीले कर्णाली करिडोर जोडिएसँगै बजार विस्तार हुने क्रम वृद्धि मात्र नभएर उपभोक्ताले सहज र सस्तो मूल्यमा सामग्री खरिद गर्न पनि पाइरहेका छन् । व्यापार बढ्दै गएपछि नयाँ आधुनिक किसिमका घरसमेत निर्माण हुने क्रम वृद्धि भइरहेको छ । कर्णाली कोरिडोर जोडिएसँगै नयाँ बजार विस्तार हुने क्रम मात्र बढेको छैन, सामग्रीहरू सुपथ मूल्यमा समेत पाइने गरेको छ ।