अर्थ | पढ्नै पर्ने |

विषादीको प्रयोगले मासिँदै मित्र कीरा, जिन बैंकले जोगाउन सक्ने


काठमाडौं,फागुन ३० गते । नेपालमा सामुदायिक जिन बैँक स्थापना भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज नजिकै बाँके जिल्लामा समुदायस्तरको जिन बैँक स्थापना गरिएको हो । पछिल्लो समय कीराको विनाश गर्ने प्रवृत्ति बढ्दै गएपछि फाइदाजनक कीराको बचावटको लागि जिन बैँक स्थापना गरिएको वरिष्ठ वैज्ञानिक तथा कृषि आनुवंशिक स्रोत केन्द्र जिन बैँक नार्कका प्रमुख डा. बालकृष्ण जोशीले बताउनुभयो ।
उहाँका अनुसार पछिल्लो समय नेपालमा कीरालाई मास्ने प्रवृत्ति बढेको छ । सबै कीरा प्रकृतिक रुपमा घातक नहुने भएकार्ले विनाश गर्नबाट जोगाई पारिस्थितिकीय प्रणाली (इकोसिस्टम ) मा टेवा पुगोस् भन्ने उद्देश्यले जिन बैँकको स्थापना गरिएको जोशीको भनाइ छ । पछिल्लो समय कीटनाशक विषदि प्रयोग गरी धेरै कीरालाई मार्ने प्रयास भएको छ । तर सबै कीरा हानिकारक हुँदैनन् । यसरी कीराको विनाश हुँदा जैविक विविधतामा नै ह्रास आएको छ,’उहाँले भन्नुभयो ‘कीराको संरक्षण गरी प्राकृतिक जैविक विविधतामा ह्रास आउन नदिन जिन बैँक स्थापना गरिएको हो ।’
कृषिमा जैविक विविधता संरक्षणका लागि जिन बैँकको ठूलो भूमिका हुन्छ । रैथाने वा वरिपरी रहेका फाइदाजनक कीराको संरक्षणका लागि उक्त जिन बैँक सहयोगी बन्ने जोशीको विश्वास छ । डा. जोशीका अनुसार संरक्षणका लागि वन,राष्ट्रिय निकुञ्जहरु भए पनि कृषिमा जैविक विविधताका लागि क्षेत्र छुट्याउन भने नसक्नु दुःखद हो ।
सातवटै प्रदेशका तराई,मध्यपहाड र उच्च पहाडी क्षेत्रमा नै जिन बैँक स्थापना गर्ने लक्ष्य रहेको जोशीले बताउनुभयो । अहिले कृषि जैविक विविधता अन्तर्गत छ वटा भाग छुट्याइएको छ । जसअन्तर्गत बाली,पशुपंक्षी,घाँसे बाली,कीरा, सूक्ष्म जीवाणु र जलीय छन् ।
जिन बैँक निर्माण गर्नको लागि ठूलो लागत भने लाग्दैन ।मौरी बस्ने घार वा कुनै मुढालाई प्वाल पारी घरमा राख्नाले पनि धेरै कीराको संरक्षण गर्न मद्दत पुग्छ । घरवरपर रहेका कीराले बनाएका बासस्थानलाई नमासिदिने हो भनेपनि जैविक विविधतामा यसले ठूलो महत्व राख्ने डा. जोशीले बताउनुभयो । नेपालमा पाइने करिब तीन हजार ५०० कीराका प्रजातिमध्ये लगभग एक प्रतिशत मात्र कीरा हानीकारक छनु । यसकारण पनि कीराको संरक्षणका लागि जिन बैकको स्थापना अपरिहार्य रहेको उहाँको भनाइ छ ।
कीरा विनाश गर्ने प्रवृत्तिले बीउ नै नासिने खतरा
कीराले परागसेचनमा प्रमुख भूमिका निर्वाह गर्दछन् । कीराबाट बिरुवाहरुमा परागसेचन हुने भएकाले नै बीउहरु जोगिने सम्भावना बढी रहेको जिन बैँक नार्कका प्रमुख डा. जोशीले बताउनुभयो । तर कीराको विनाश गर्ने परिपाटीले परागसेचनमा कमी आउँदा केही बिरुवा नासिने र बीउ जोगाउन नै समस्या भइरहेको जोशीले बताउनुभयो । ’परागसेचनमा मुख्य भूमिका कीराको हुन्छ तर कीराको विनाशको लागि कीटनाशक विषादीको प्रयोग बढेकाले बालीका लागि फाइदाजनक कीरा पनि मरिरहेका छन्‘उहाँले भन्नुभयो ‘जसका कारण परागसेचनमा कमी आउनाले बीउ जोगाउन नै समया भइरहेको छ ।’
सहरमा पनि जिन बैँक स्थापना गर्न सकिन्छ
पछिल्लो समय सहरीकरण बढेसँगै बातावरणीय पक्षहरुको ह्रास,जैविक विविधता तथा पारिस्थितिक पद्धतिमा नै कमी आएको छ । फलस्वरुप वातारणमा रहेका विभिन्न जीव–जीवात्माहरुको अस्तित्व नै लोप हुने खतरा बढेको छ । त्यसकारण सहरीकरणसँगै वातावरणीय पक्षको विकास गर्नु पनि उत्तिकै महत्वपूर्ण हुने डा. जोशी बताउनुहुन्छ । यदी सहरमा बस्नेहरुले आफ्नो घरमा कुनै काठमा प्वाल पारेर वा घरको कुनै भागमाकीरा बस्ने मिल्ने गरी ठाउँ छाडिदियो भने त्यसले कीराको संरक्षणका साथै जैविक विविधतामा पनि टेवा पुग्ने उहाँको भनाइ छ ।
माटोमा हावाको सञ्चय निरन्तर बनाइराख्न धमिरा, कमिला, गँड्यौलाको भूमिका हुन्छ । बालीको जरामा हावाको कमी भयो भने अपेक्षित उत्पादन हुँदैन ।
कीरा सबै शत्रु हुदैनन् मित्र पनि हुन्छन्
माटोमा सञ्चय हुने प्राङ्गारिक पदार्थलाई बिरुवाले सोस्न सक्ने खाद्यतत्व बनाइराख्न यस्ताकीराको भूमिका महत्त्वपूर्ण हुन्छ, जसलाई कृषि प्राविधिकहरू मित्र कीरा भन्दछन् । बालीलाई हानि पु¥याउने लाइ र फड्के आदि कीरालाई खाइदिने कमिला, गाइने, पुतली कुमालकोटी जस्ता केही प्रजातिका कीराको काम गर्ने डा.बालकृष्ण जोशी बताउनुहुन्छ । उहाँका अनुसार पहिले नेपालमा पाइन ६ हजार ८ सय प्रजातिमध्ये ५० प्रतिशत प्रजाति नेपाली भूमिबाट हराएका छन । ‘जैविक विविधता छैन भने हाम्रो जीवन सुरक्षित छैन,’ उहाँले भन्नुभयो, ‘हाम्रो पृथ्वी पनि सुरक्षित छैन ।’