अर्थ |

ऊर्जामन्त्री र एडीबी प्रतिनिधिमण्डलबीच छलफल

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ५ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र एसियाली विकास बैङ्क (एडीबी) दक्षिण एसिया विभागका महानिर्देशक किनिची योकोयामा बीच छलफल भएको छ । मन्त्रालयमा शुक्रबार भएको छलफलमा एडीबी लगानीका आयोजना कार्यान्वयनको अवस्था एवं नयाँ आयोजनाका सम्भावनाका विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले जनाएको छ ।

छलफलमा मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ क्षेत्रका आयोजनालाई सरकारले विशेष प्राथमिकतामा राख्दै आएको र कृषि क्षेत्रमा पनि एडीबीको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले एडीबीको टोलीसँग खेतीयोग्य जमिनमा सिँचाइ आयोजना पु-याउन सहयोग आवश्यक रहेको बताउनुभएको सचिवालयले जनाएको छ ।

महानिर्देशक योकोयामाले ऊर्जा र सिँचाइ क्षेत्रमा एडीबीको सबैभन्दा ठूलो लगानी रहेको चर्चा गर्दै ती क्षेत्रका आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । आयोजना विकास गर्दा सामाजिक एवं प्राविधिक विषय सम्बोधन गरेर समयमै सल्टाउनुपर्ने बताउँदै उहाँले आगामी दिनमा नयाँ योजना पहिचान गरी विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

सो छलफलमा ऊर्जा सचिव देवेन्द्र कार्की, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थिति थियो । त्यसैगरी एडीबीका तर्फबाट दक्षिण एसिया हेर्ने उपमहानिर्देशक मनमोहन प्रकाश र नेपालका लागि देशीय निर्देशक आरनौड काउचरिजलगायत प्रतिनिधिको सहभागिता थियो ।