अर्थ |

नेपाल–सेसेल्सबीच श्रम सम्झौता गर्ने सहमति

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत ६ गते । नेपाल र सेसेल्सबीच अबको एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौता टुङ्गोमा पु¥याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको छ । गणतन्त्र सेसेल्सको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्कासँग द्विपक्षीय भेटवार्तामा सोबारेमा सहमति भएको हो ।

वैदेशिक रोजगारीका लागि नेपाली श्रमिक लैजान गणतन्त्र सेसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवादसहित सेसेल्ससँग द्विपक्षीय श्रम सम्झौता गर्न नेपाल तयार रहेको बताउनुभयो । न्यूनतम योग्यता, भाषागत क्षमता, न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधा, कामदार छनोट र स्वदेश फिर्तीलगायत विषयमा संयुक्त कार्यदलले तयारी गर्नेछ । कार्यदलमा नेपालका तर्फबाट मन्त्रालयका उपसचिव डा. थानेश्वर भुसालले नेतृत्व गर्नुहुनेछ ।

अहिले एक हजार २५० भन्दा धेरै नेपाली सेसेल्समा रोजगारीको क्रममा रहेका छन् । सेसेल्स रहेका धेरै नेपाली अहिले सुरक्षागार्डका रूपमा कार्यरत छन् । यसबाहेक होटल तथा पर्यटन क्षेत्रमा पनि केही नेपाली कार्यरत छन् । नेपाल र सेसेल्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको साढे तीन दशक भइसकेको छ ।

द्विपक्षीय भेटवार्तामा आन्तरिक मामिलामन्त्री फोन्स्काले जेल सुरक्षाका साथै सेसेल्सको प्रहरी सेवा पनि नेपालीलाई रोजगारी दिन सकिने बताउनुभएको थियो । भेटवार्तामा श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल र उपसचिव डा. थानेश्वर भुसाल हुनुहुन्थ्यो भने गणतन्त्र सेसेल्सको रोजगार तथा सामाजिक मामिला र आन्तरिक मामिला मन्त्रालयका उच्च अधिकारीका साथै प्रहरी र जेल सुरक्षा प्रमुखको उपस्थिति थियो ।