उखु नपाएपछि चिनी उद्योग बन्द
यादवराज पुरी
रौतहट, चैत ६ गते । यस वर्ष रौतहटमा उखु उत्पादन आधा नै घटेको छ । उखुको रकम भुक्तानीमा ढिलाइ र चिनी मिल नै बन्द भएपछि यहाँका किसानले उखुखेती छोडेपछि उत्पादन घटेको हो ।
रौतहटको मध्यभागमा रहेको श्रीराम सुगर मिल्स गत वर्षदेखि बन्द छ । अर्को कटहरिया नगरपालिकामा रहेको बाबा बैजुनाथ चिनी मिल भने गत वर्षदेखि नै सञ्चालनमा छ तर उखु उत्पादन घटेका कारण मिलको लक्ष्य पूरा हुन सकेको छैन ।
२० लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको बैजुनाथ चिनी मिलले यस वर्ष छ लाख क्विन्टलको हाराहारीमा क्रसिङ गरेको मिलका सञ्चालक बैजुबाबराले बताउनुभयो । उखु अभावका कारण मिल सिजन अवधिभर नचलेपछि लक्ष्य पूरा हुन नसक्दा घाटा बेहोर्नुपरेको उहाँको गुनासो छ ।
जिल्लामा बर्सेनि ११÷१२ हजार बिघामा उखु उत्पादन हुँदै आएको जानकारी दिनुहुँदै उखु उत्पादक सङ्घ रौतहटका सचिव सफिन्द्र यादवले यस वर्ष पाँच÷छ हजार बिघामा मात्र उखुखेती भएको बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “विगतका वर्षको तुलनामा यस वर्ष आधा नै घटेको छ तर बैजुनाथ चिनी मिलको प्रभावकारी भुक्तानी पक्ष एवं उखु उत्पादनतर्फ किसानलाई अग्रसर गराउन गरेको गतिविधिले भने आउँदो वर्षमा उत्पादन बढ्ने पक्का छ । ”
गरुडास्थित श्रीराम सुगर मिल्सले किसानको ३८ करोड रुपियाँ बक्यौता रकममध्ये ३५ करोड रुपियाँ मात्रै भुक्तानी गरेको छ । मिल बन्द भएपछि हाल मिलको प्रशासनिक सेवासमेत बन्द भएकाले किसानले बाँकी तीन करोड रुपियाँ भुक्तानी पाउन नसकेको उखु उत्पादक सङ्घ रौतहटका अध्यक्ष अशोक यादवले जानकारी दिनुभयो ।उहाँका अनुसार मिल पुनः सञ्चालनमा आउने सम्भावना बढेको र किसानका बक्यौता रकमसमेत पूर्णरूपमा चुक्ता हुने विश्वास छ ।