यस वर्ष आँपको उत्पादन बढ्ने
जीबछ यादव
लहान, चैत ७ गते । आँपको मञ्जर(फूल) मा लाग्ने मधुवा रोगको प्रकोप कम भएकोले यस वर्ष आँप उत्पादन बढी हुने कृषि विकास शाखा लहानले जनाएको छ ।
हावामा आद्रता कम र तापक्रम बढी भएकोले मञ्जरमा लाग्ने मधुवा रोगको प्रकोप नदेखिएको शाखा प्रमुख प्रकाश साह हलुवाइले जानकारी दिनुभयो । उहाँका अनुसार लहान नगरपालिकामा पाँच सय हेक्टर र सिरहा जिल्लामा नौ हजार हेक्टरमा उत्पादन हुने आँपको उत्पादन अनुसारको बजार व्यवस्थापनमा पहिलेदेखि नै लागे किसानले बढी आम्दानी गर्न सक्नेछ ।
एक हत्तापछि प्रति लिटर एक एमएल इमिडिाकलोरोफिड र दुई ग्राम बोरेक्स मिलाएर छर्किएमा आँपको टिकुला सप्रिने उहाँले जानकारी दिनुहुँदै मधुवा रोग नलागेको आँप हावाहुरीमा पनि बढि नझर्ने भएकाले यस वर्ष आँप उत्पादन बढि हुने प्रष्ट्याउनुभयो ।
आँपमा सानो–सानो टिकुला लाग्न थालेकोले यसपटक आँपबाट राम्रो आम्दानी हुने आशा पलाएको छ । तर, जेठ असारमा वर्षा लागेको बेला आँपको उचित मूल्य नहुँदा विगतमा सोचे अनुसार राम्रो आम्दानी नभएको लहान–२४ रामु यादवले बताउनुभयो । यस वर्ष बजारको व्यवस्थापनको लागि स्थानीय कृषि शाखा र कृषि सहकारीहरुसँग बजार व्यवस्थापनको लागि आग्रह गरेको बताउनुभयो ।
आँपको राजधानीको रुपमा रहेको सिरहा जिल्लामा आँपको बजारीकरणको लागि आँप उत्पादनमा राष्ट्रिय राजमार्गदेखि उत्तरमामा रहेको लहान, धनगडीमाइ, गोलबजार, मिर्चैया र कर्जन्हा नगरपालिका मिलेर आँप उत्पादनमा लागेका किसानहरुको उत्साह बढाउन बजारीकरण र आँपसँग जोडिएको उद्योग सञ्चालन गर्न वातावरण बनाउन समन्वय भइरहेको जिल्ला समन्वय समितिका उपप्रमुख सरोज कुमार यादवले बताउनुभयो ।