अर्थ |

मदन भण्डारी राजमार्गमा पुल निर्माणले गति लिँदै

सिन्धुलीमाढी, चैत ७ गते । निर्माणाधिन मदन भण्डारी राजमार्गमा पुल निर्माणले तीव्रता पाएको छ । उदयपुरको बसाहादेखि हेटौँडा उप–महानगरपालिका–६ चौगडासम्म कुल २५० किलो मिटर लामो उक्त राजमार्गमा रहेका कुल ९६ वटा पक्कि पुलमध्ये ७६ वटा पुल निर्माण सम्पन्न भई सकेको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार ठेक्का लागेर निर्माण हुन बाँकी २० वटा पुलमध्ये १९ वटा पुल पनि धमाधम भई रहेको छ । कमलामाई नगरपालिका–६ स्थित ग्वाङखोला पुल भने निर्माण हुन सकेको छैन । उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानसम्म १३५ किलोमिटर लम्बाई सडकलाई पूर्वी खण्ड र भिमानदेखि हेटौँडा उप–महानगरपालिका–६ चौगडासम्म ११५ किलोमिटर लम्बाई सडकलाई पश्चिम खण्डमा विभाजन गरी निर्माण हुँदै आएको छ ।

पश्चिम खण्डका इन्जिनियर तथा सूचना अधिकारी निरन्जन थापाले पश्चिम खण्डमा रहेका ४० वटा पुलमध्ये ३२ वटा पुलको निर्माण सम्पन्न भई सञ्चालनमा आई सकेको जानकारी दिनुभयो । पश्चिम खण्डमा बाँकी रहेका आठ वटा पुलमध्ये छ वटा ठेक्का लागेर धमाधम निर्माण भइरहेको छ । कालिका बेदान्सी जेभीले ठेक्का लिएका यी छ वटा पुलमध्ये पनि चार वटा सकिन लागेको छ ।

पश्चिम खण्डमा नै पर्ने ग्वाङखोला पुल विवादका कारण लाईन दिन नसक्दा ठेक्का लागेर पनि काम अहिलेसम्म सुरु गर्न नसकिएको सूचना अधिकारी थापाले बताउनुभयो । ‘ग्वाङखोला पुल जेडआई ईसी अनक लुम्बीनी जेभीले ठेक्का लिएको थियो, उसको म्याद यही चैतसम्म भएकोले अब काम गर्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘अब त्यसलाई नयाँ ठेक्का लाउनेकी भन्ने छ । जेडआई ईसी अनक लुम्बीनी जेभीले ठेक्का लिएको ३३ वटा पुलमध्ये त्यही ग्वाङखोला पुल मात्रै विवादका कारण काम हुन नसकेको हो ।’

पश्चिम खण्डाको बाँकी बागमती पुल पनि पुलको मुखमा दायाबाँया तटबन्ध गर्ने काम बाँकी रहेको र अरु काम सकिएको उहाँको भनाइ छ ।

त्यस्तै, पूर्वी खण्डमा रहेका ५६ वटा पक्कि पुलमध्ये ४४ वटाको निर्माण सम्पन्न भई सकेको छ । पूर्वी खण्डमा निर्माण हुन बाँकी रहेको १२ वटा पुलको काम आगामी असार महिनासम्ममा सम्पन्न हुने गरी एकसाथ भइरहेको पूर्वी खण्ड सडक आयोजनाले जनाएको छ ।

उक्त खण्डका इन्जिनियर तथा सूचना अधिकारी शंकर पौडेलले निर्माण सम्पन्न हुन बाँकी १८ किलोमिटर सडकमा आठ वटा पुलको काम भइरहेको छ भने चार वटा पुलको काम भर्खरै सुरु भएको जानकारी दिनुभयो । पुलको काम सकिएपछि भिमानदेखि वसाहसम्मको १३५ किलोमिटर सडक निर्माण सम्पन्न हुनेछ । ३० मिटरदेखि ६५ मिटरसम्म लम्बाइ रहेका १० वटा पुल आगामी असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

सपनाहिमदुङ थोक्कर जेभी, कर्मा लामा जेभी र लुम्बिनी कन्स्ट्रक्सनले पुलको ठेक्का लिइ काम गर्दैछन् । ६५ मिटर लम्बाइ रहेको ठप्पर खोलाको पुल र ५० मिटर लम्बाइ रहेको खैरेखोला पुल निर्माणमा केही प्राविधिक कठिनाही रहेकाले निर्माण सम्पन्न हुन समय लाग्ने भएको छ । पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद भने अझै एक वर्ष बाँकी रहेको आयोजनाले जनाएको छ ।

राजमार्ग निर्माणको शुरुवात चरणबाटै सडक मापदण्डको विषयलाइ लिएर विवाद हुँदा पश्चिम खण्डमा पर्ने जिल्ला सदरमुकाम सिन्धुलीमाढी क्षेत्रमा छ किलोमिटर सडक निर्माण हुन सकेको थिएन् । दाँयाबाँया गरी ११ मिटर भित्र सम्पूर्ण स्टकचर (संरचना) बन्ने गरी सहमति भएपछि छ किलोमिटरमध्ये पाँच किलो मिटर सडक अन्तिम चरणमा पुगको र बँकी एक किलोमिटरमा ठाँउ ठाँउमा स्थानीयको अवरोधले निर्माणमा केही ढिलाई भएको पश्चिम खण्डका सूचना अधिकारी थापाले जानकारी दिनुभयो ।

आयोजनाका अनुसार २०७३ साल कात्तिकमा सम्झौता गरि निर्माण सुरु गरिएको उक्त राजमार्ग २०७७ कात्तिक महिनासम्म सक्ने लक्ष्य थियो । बीचमा कोरोनाका कारण निर्माणमा ढिलाई भएपछि २०७९ सालअसारसम्म सक्ने गरी आयोजनाको डेढ वर्ष म्याद थप भएको छ । दोस्रो कोरोना महामारीमा समेत काम हुन नसकेपछि अरु छ महिना म्याद थप भएको छ । पूर्वी खण्डमा पुलबाहेक ९६ प्रतिशत र पश्चिम खण्डमा ९० प्रतिशतभन्दा बढी सडक निर्माणको काम सकिएको आयोजनाले जनाएको छ ।

मदन भण्डारी राजमार्ग अन्तर्गत कमलामाइ नगरपालिका–१३ को रानीवासमा निर्माणधिन पुल ।